साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ । मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।
रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम समावेश भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि ढकालले शनिबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् । फेसबुकमा सार्वजनिक वक्तव्यमा उनले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् । ढकालले युवाको सामूहिक नेतृत्वमार्फत सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् । समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको धारणा राखेका छन् । ‘नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ ढकालले उल्लेख गरेका छन् । ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।
आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुईवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै ३३ लाख बराबरको खच गर्न पाउनेछन् । भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ । आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम २५ लाख बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ । ती निर्वाचन क्षेत्रमा काठमाडौं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी तेह्रथुम, पर्सा १, २ र ३, रसुवा काठमाडौं २, ४, ५, ९, १०, ललितपुर १ र २ मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । त्यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख बराबरको चुनावी खर्च गर्न पाउँछन् । आयोगले यसपटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।