उपत्यकासहित देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री घटेर सोमबार तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।      यही पुस १९ गते काठमाडौंको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो ।      मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताए । काठमाडौंसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताए।      पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा सोमबार थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौंको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो ।      विभागमा सोमबार अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो ।      दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ ।  दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।       जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँठाउँमा खोलाहरु समेत जमेको छ ।  

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरू ठगीमा परेको गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरूको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।  कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । 'ठगी गर्नेहरू कतिपय नेपाली मूलका व्यक्तिहरू नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरूको गुनासो पनि आएको छ,' विज्ञप्तिमा उल्लेख छ ।  यस्ता अपराधहरू नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरू तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ ।      आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।      आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ ।      कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।