रामकुमारी झाँक्रीको नयाँ मोड : समाजवादीसँगको यात्रा टुंगियो, झाँक्री र किसान एमाले फर्किने संकेत

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् । 'समाजवादी पार्टीको अभियान भव्य हुने विश्वास थियो, तर त्यो सम्भावना समाप्त भएको छ। हाम्रो त्यो यात्रा यसको विघटनसँगै समाप्त भयो,' झाँक्रीले भनिन् । यसअघि पार्टीका अर्का नेता किसान श्रेष्ठले पनि निसर्त रूपमा एमाले फर्किन तयार रहेको बताएका थिए । 'हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए पुग्छ,' श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेपछि झाँक्री, श्रेष्ठलगायत नेताहरू असन्तुष्ट बनेका हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्री र उनका सहयात्रीहरू पुनः एमालेमा फर्किए भने नेपालको वाम राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बलियो देखिएको छ ।

जेनजी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार माग

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । ​त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् ।   भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो । जेनजी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दशैँ तिहार मनाउन आउनेहरुले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए ।  उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो। त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ ।  चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ ।  अर्यालकाअनुसार अहिले दैनिक झन्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ ।  नियोग जिल्ला प्रशासन, इलाका प्रशासन  कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ ।  अहिले दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ ।  त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले न्युज एजेन्सी नेपाललाई जानकारी दिए।  अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेनजी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरु जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरु विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दशैँ तिहारका कारण सेवा अवरुद्ध भयो ।’ ६ हजार राहदानी जले राहादनी विभागकाअनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरुको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’ अर्यालकाअनुसार अहिले देखिएको भीडभाड एक–दुई हप्तामै समाधान हुन्छ । जसअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कुटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ । अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरे ।     

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । यो समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्नको लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा संस्था, ब्युरोबीच लेखापरीक्षणसंग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबीच समन्वय र सहकार्य स्थापित गर्नु, नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन, २०५३ बमोजिम गर्ने अनुगमन लगायत नियमनसम्बन्धी कार्यमा आवश्यकताअनुसार ब्युरोले संस्थालाई सहयोग उपलब्ध गराउनु, नक्कली लेखापरीक्षक विरुद्ध कारवाही गर्नु तथा संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्नको लागि आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्नु रहेको समझदारीपत्रमा हस्ताक्षर गरेपछि संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीअन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धानको सिलसिलामा ब्युरोबाट विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञताको लागि माग भई आएमा संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीहरुको ज्ञान तथा दक्षता अभिवृद्धि गर्नको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ । संस्थाका सदस्यविरुद्ध कुनै जाहेरी वा उजुरी परेको अवस्थामा सो सम्बन्धमा छानबिन गर्दा जाहेरी वा उजुरी परेका संस्थाका सदस्यले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स, नियमावली, २०६१, संस्थाले जारी गरेको लेखापरीक्षणमान र लेखाव्यवसायी सदस्यहरुको लागि संस्थाले जारी गरेको आचार संहिताबमोजिम संस्थाको क्षेत्राधिकारभित्र पर्ने भए ब्युरोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आवश्यक समन्वय गर्ने तथा संस्थाका सदस्यविरुद्ध लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित विषयमा संस्थामा परेको उजुरीउपर छानविन गर्ने क्रममा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषय भएमा थप छानविन गरी अनसुन्धान गर्न संस्थाले आवश्यक कागजात सहितको जानकारी ब्युरोलाई गराउने समझदारी भएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष तथा सिआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकोले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृत रुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र व्युरोबीच आपसी सूचना आदानप्रदानमा यस समझदारीले अहं भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । दुवै निकायहरु बीचको यस समझदारी पत्रको प्रभावकारी रुपमा कार्यान्वयनबाट नेपालको वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण, लेखापरीक्षण क्षेत्रमा रहेको अवाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्न सहयोग पुग्ने तथा आइक्यानका सदस्यहरुको हितको संरक्षण हुने विश्वास गरिएको छ ।