काठमाडौं । एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले यससँगै ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो । कम्पनीले कार्यक्रमलाई ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज उत्पादनमा एकरूपता कायम गर्ने, ब्राण्डिङ सुदृढ बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उच्च प्रदर्शनलाई प्राथमिकतामा राखिएको यस सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै दिपेन्द्र सिंह ऐरीले गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनले नेपाली उत्पादनप्रतिको उपभोक्ता विश्वास बढ्दै गएको उल्लेख गर्दै एशियन ब्याट्रीले उद्योग क्षेत्रमा बनाएको पहिचान प्रशंसनीय रहेको धारणा राखे ।
कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा योगदान पुर्याउने रिटेलर तथा डिष्ट्रिब्युटरलाई सम्मानसमेत गरिएको थियो । कम्पनीले आफ्ना व्यावसायिक साझेदारलाई सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरेको छ ।
कम्पनीका अध्यक्ष सुरेश लोहनीले एशियन ब्याट्रीले नेपाली अटोमोबाइल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । गुणस्तर, विश्वसनीयता र बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताका कारण बजारमा कम्पनीको उपस्थिति सुदृढ भएको उनको भनाइ छ ।
एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरस्थित उत्पादन केन्द्र र काठमाडौंस्थित कर्पोरेट कार्यालयमार्फत कम्पनीले अन्तर्राष्ट्रियस्तरको उत्पादन प्रणाली अपनाउँदै आएको छ ।
कम्पनीका अनुसार प्रत्येक ब्याट्री कडा परीक्षणपछि मात्र बजारमा ल्याइने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
स्वदेशी उद्योगका रूपमा सुरु भएको एशियन ब्याट्रीले हाल अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो उपस्थिति विस्तार गर्दै ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।