निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सागर डिष्टिलरीले आज भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।' केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ । आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्‍याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, 'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।' कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।