काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा पुगेको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर ७० हजार १५८ पटक खरिदबिक्री भएका छन् । तीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ ।
एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी र सगरमाथा जलविद्युत कम्पनीको सेयर करिब ७ प्रतिशतले बढेको छ ।
यता, १० प्रतिशत सानिमा बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि हरियालीमा रहे ।
यद्यपि, म्युचुअल फन्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले घटेको छ।