मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आईपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  उक्त सेयर निष्काशनका लागि संस्थागत परामर्श तथा निष्काशन र बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।  बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिक्री प्रबन्धकको रूपमा नियुक्त नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त यस संस्थाले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, प्रत्याभूति, हितग्राही खाता सञ्चालन र सेयर रजिष्ट्रार जस्ता विभिन्न मर्चेण्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । झापाको दमक, ताराबारीमा अवस्थित मेची इन्डष्ट्रिज लिमिटेडले स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लकहरू उत्पादन गर्दै आएको छ ।  महेन्द्र राजमार्गबाट २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालित यस उद्योगले वार्षिक २१ लाख ६० हजार थान ब्लक उत्पादन गर्ने क्षमता राख्दछ । उच्च चापयुक्त बाफ प्रविधिबाट उत्पादित यी ब्लकहरू हलुका, ताप प्रतिरोधी र अग्नि प्रतिरोधी हुनुका साथै परम्परागत इँटाको उत्कृष्ट र वातावरणमैत्री विकल्पका रूपमा चिनिन्छन् ।  कम्पनीले हाल एएसी ब्लकका अतिरिक्त एडेसिभ, रेडिमिक्स प्लाष्टर र वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडानको कार्यलाई समेत तीव्रता दिएको छ, जसलाई केही समयभित्रै बजारमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे, १० अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले बढेर २८६६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवमकाे ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेसनल हाइड्रोको ५७ करोड, रिलाइन्स स्पििनिङ मिल्सको ४९ करोड, सोलु हाइड्रोको ४१ करोड र रिडि पावरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कम्पनीमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिडिज लाइन, सुयैकुन्ड हाइड्रो, होटल फोरेन्ट, सिन्धु विकास बैंक र पाल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    आज सबै उपसमूहका सूचकमा हरियाली छाएको छ ।

वैशाख १७ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै हिमालयन पावर पार्टनर

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेँसीशहर, दोर्दी, भोटेओडार र उदीपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।