सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो । तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

आज र भोली सेयर कारोबार नहुने

काठमाडौं । २ दिन सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज र भोली सेयर कारोबार नहुने जनाएको छ ।  हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले भदौ २५ र २६ गते दुई दिन सेयर कारोबार स्थगन गरिएको प्रवक्ता मुराहरी पराजुलीले बताए ।  सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको उनको भनाइ छ ।

स्थानीय बासिन्दाले श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।