प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांस पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (आज) सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७ प्रतिशत लाभांश पारित गरेको छ ।  साधारण सभाले गत आवको लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७ प्रतिशत लाभांश पारित गरेको हो ।  जसमा ८.७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांशले हुन आउने रकम  १५ करोड ५७ लाख ७१ हजार ७५३ रुपैयाँ वितरण गरेको छ ।  साधारणसभामा कम्पनीमा अध्यक्ष राजेन्द्र मल्लले कम्पनीले दिगो रूपमा सफलता हासिल गर्नको लागि नीतिगत रूपमा अल्पकालीक तथा दीर्घकालीन रणनीति तय गरेको बताए । कम्पनीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । ‘सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति लिएको छ, अध्यक्ष मल्लले भने,‘ कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रूपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिइएको छ ।’ साथै मानव संसाधन विकास, कर्मचारी तालिम तथा कार्यक्षमता अभिवृद्धिमा पनि विशेष जोड दिइएको अध्यक्ष मल्लले बताए ।  अध्यक्ष मल्लका अनुसार कम्पनीले यस वर्ष  वित्तीय विवरण नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको छ । कम्पनीले यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर, नेपाल’ र कम्पनी विथ् बेस्ट रिस्क म्यानेजमेन्ट स्ट्राजी अफ द इयर –जनरल नेपाल’ दुई वटा विधामा अवार्ड जित्न सफल भएको थियो । 

३ कम्पनीमा सकारात्मक सर्किट, ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९५ अंकले घटेर २८०४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १२१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावरको भएको छ । नेसनलको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पििनिङ मिल्सको ३२ करोड, सोलु हाइड्रोको ३१ करोड, होटल फोरेस्टको २८ करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको १५ प्रतिशत, सुर्यकुन्ड हाइड्रोको १४.९९ प्रतिशत र शिखर पावरको १४.९९ प्रतिशतले सेयर मूल्य बढेका छन् ।     

दीपक भट्टमाथिको अनुसन्धान प्रतिवेदन बाहिरियो, भीआईपी व्यवसायी समेत संलग्न

काठमाडौं । व्यापारी दीपक भट्टमाथि गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणमा भट्ट र उनीसँग सम्बन्धित नेटवर्कले बजार प्रभावित पार्ने, मूल्यमा कृत्रिम उतारचढाव ल्याउने तथा जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालिएको छ । उक्त नेटवर्कमा केही भीआईपी उद्योगी-व्यवसायीहरू समेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ अनुसार भट्टले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङमार्फत वास्तविक रकम भुक्तानी नगरी ठूलो परिमाणमा सेयर कारोबार गरेका थिए । प्रचलित कानुनअनुसार बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने र कम्तीमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लङ्घन भएको देखिएको छ । भट्टले सेयर खरिद गर्दा नगद भुक्तानी नगरी आफू निकट कम्पनीहरूबीच रकम मिलान (राफसाफ) गर्ने अभ्यास अपनाएको पाइएको छ । यस्तो ‘उधारो कारोबार’ले बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्य वृद्धि गराउन सहयोग गरेको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले भट्टसँग सम्बन्धित कम्पनीहरूबीच ‘इन्साइडर ट्रेडिङ’ भएको पनि पुष्टि गरेको छ । इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्सबाट खरिद गरिएका ऋणपत्रहरू आफ्नै अन्य कम्पनीहरूलाई उच्च मूल्यमा बिक्री गरिएको पाइएको छ । यस्तो कारोबारले वास्तविक स्वामित्वमा खासै परिवर्तन नगरी मूल्य मात्र बढाउने उद्देश्य राखेको देखिन्छ, जसलाई कानुनले झुट्टा कारोबारको रूपमा परिभाषित गर्छ । प्रतिवेदनले भट्टसहित भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचान लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । उनीहरूले बजारलाई प्रभावित पार्ने, कृत्रिम कारोबार गर्ने र लगानीकर्तालाई भ्रममा पार्ने कार्य गरेको ठहर गरिएको छ । अन्य आरोपितहरूमा शुभी अग्रवाल, ऋषि राज मोर र राजबहादुर शाह रहेका छन् भने हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित व्यक्तिहरू तथा केही उद्योगी-व्यवसायीहरूले समेत प्रक्रियामा सहयोग पुर्‍याएको उल्लेख छ । प्रतिवेदनले दोषीहरूलाई धितोपत्र सम्बन्धी ऐनअनुसार कडा कारबाही गर्न सिफारिस गरेको छ।