ङादी ग्रुप पावरको लाभांश घोषणा

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

नेप्सेमा थपियो १८ अर्ब २ करोड रुपैयाँको सेयर, बोनस मात्रै पौने २ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा पौने २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आवको असोज मसान्तसम्ममा नेप्सेमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  साथै, नेप्सेमा १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  नेप्सेमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

पुँजी बजारमा बैंकहरूको १ खर्ब २१ अर्ब रुपैयाँ लगानी, माछापुच्छ्रे र कृषि विकासले धेरै बढाए

काठमाडौं । वाणिज्य बैंकहरूले १ खर्ब बढी रकम सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।  गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले ४४.३७ प्रतिशत अर्थात् ३७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विगतमा गरिएका कडाइलाई खुकुलो गरेसँगै बैंकहरुले लगानी बढाएका हुन् । नीतिगत व्यवस्था सहज भएर सेयर बजारमा प्रवाह हुने रकम बढेको भएपनि बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।  चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले सेयर धितो कर्जा वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकको २९२.४८ प्रतिशत बढाएर ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जबकि गत वर्षको असोजमा बैंकले ९० करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो ।  यस्तै, असोज मसान्तसम्ममा कृषि विकास बैंकको २५१.९९ प्रतिशत बढेर ५ अर्ब ९१ करोड रुपैयाँ सेयर कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो ।  समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको ८९.९८ प्रतिशत बढेर ७ अर्ब ७९ करोड रुपैयाँ, एनएमबि बैंकको ८६ प्रतिशत बढेर ३ अर्ब २ करोड रुपैयाँ, प्राइम बैंकको ७७.७८ प्रतिशत बढेर ९ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकको ७२.८२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६७.११ प्रतिशत बढेर ६ अर्ब ९२ करोड रुपैयाँ,  हिमालयन बैंकको ६५.४५ प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको ६३.६९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकको ५५.२५ प्रतिशत बढेर २ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ४८.३८ प्रतिशत बढेर १६ अर्ब २६ करोड रुपैयाँ सेयरमा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ३६.२९ प्रतिशत बढेर १० अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २३.३२ प्रतिशत बढेर ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन्स बैंकको १८.७४ प्रतिशत बढेर ६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १७ प्रतिशत बढेर ५३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७ प्रतिशत बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १५.७५ प्रतिशत बढेर ८ अर्ब ९५ करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका छन् । समीक्षा अवधिमा नेपाल बैंक र एनआईसी एशिया बैंकले भने सेयर बजारमा प्रवाह हुने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले १६.०७ प्रतिशत घटाएर २ अर्ब ४७ करोड रुपैयाँ र नेपाल बैंकले ३.६१ प्रतिशत घटाएर ७ अर्ब २६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका हुन् ।