नेपाल पुनर्बीमाको संस्थापक समूहको २१ लाख ७१ हजार कित्ता सेयर लिलाम बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको हो । कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने कम्पनीले जनाएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने पनि कम्पनीले स्पष्ट पारेको छ ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो, १६ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २७६९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ५६ करोड, मन्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानलको ५० करोड र बन्दिपुर केबलकारको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशत बढेको हो । जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।
प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार सुजित श्रेष्ठले २६ हजार ३५१ कित्ता, बाबुराम महर्जनले २ हजार १९ कित्ता, सुरेश प्रसाद चौधरीले २ लाख ३८ हजार ४२० कित्ता, हरि प्रसाद शर्माले ६ हजार ४६१ कित्ता, जीवन काजी माकजु श्रेष्ठले ३७ हजार ९१९ कित्ता, दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता, हरिहर प्रसाद भण्डारीले ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, अञ्जना भण्डारीले ६ हजार ६४० कित्ता, राजकुमार थापाले १७ हजार २३४ कित्ता, बिनोद थकालीले २ लाख कित्ता, प्रविण कुमार श्रेष्ठले १४ हजार २१८ कित्ता, अनन्त अग्रवालले १ लाख ७ हजार २२० कित्ता र दिपक प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।