सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।   

दशैंपछिको पहिलो कारोबारमा सेयर बजार उच्च अंकले घट्यो, सबै समूहका सूचक घटे

काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (९२.१९ प्रतिशत) घटेर २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भएको छ । आज १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर रहेको छ । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यस समूह बढी प्रभावित भएको छ । बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशतले घटेको छ । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशतले घटेको छ । आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । मूल्य धेरै बढ्नेमा सेन्चुरी डिबेन्चर १० प्रतिशत , एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशत मूल्य वृद्धिसहित अगाडि छन् । धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् ।

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज असोज २१ गते अन्तिम दिन रहेको छ । असोज ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।