टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४५५ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ ६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
एनआईसी एशिया बैंकको पुँजी २७.३७ अर्ब पुर्याउने
काठमाडौं । हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न एनआईसी एशिया बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २८औँ वार्षिक साधारण सभा डाकेको हो । बैंकले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अर्थात् २:१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् अब साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ । साधारण सभाबाट पारित पछि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै बैंकले सेयर जारी गर्नेछ । हकप्रद सेयर जारी गर्न सम्बन्धित निकायको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै संशोधन गर्नुपर्ने भए सभाले सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । साथै बैंकको सभाबाट अधिकृत पुँजी १९ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरि २७ अर्ब ३८ करोड रुपैयाँ, जारी पुँजी र चुक्ता पुँजी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरि २७ अर्ब ३७ करोड ६३ लाख ५० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको प्रवन्धपत्रमा तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२८ कमलादीस्स्थत आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण, चालु आव २०८२/८३ को लागि बाहय लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । साथै, बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल, सञ्चालक अनुपा प्रधान राजभण्डारीको नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको लागि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । वैशाख १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २१ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।