५० प्रतिशत हकप्रद सेयर जारी गर्न एनआईसी एशियालाई राष्ट्र बैंकको पूर्व-स्वीकृति
काठमाडौं । एनआईसी एशिया बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख १ गते बैंकलाई २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृति प्रादन गरेको हो । एनआईसी एशियाले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अर्थात् २:१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् अब साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ । हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न बैंकले जेठ १८ गते २८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा आर्मि अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधीहरुले सभामा सहभागीता जनाउन सक्नेछन् । साधारण सभाबाट पारितपछि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउनुपर्ने हुन्छ । त्यसपछि मात्रे बैंकले सेयर जारी गर्नेछ ।
सूर्यज्योति लाइफबाट एनआईसी एशिया बैंक बाहिरिने, १४.६४ करोडको सेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गरेर सूर्यज्योति लाइफबाट बाहिरिने निर्णय गरेको हो । कम्पनीमा बैंकको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । उक्त सेयर प्रतिकित्ता १६५ रुपैयाँका दरले बिक्रीमा राखेको हो । सो मूल्यका आधारमा बैंकले १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले वैशाख २८ गतेसम्म आवेदन दिनुपर्नेछ । न्यूनतम् ५ हजार कित्ता सेयरका लागि निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकसँगै बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, शाखा कार्यालयहरू विराटनगर, आदर्शनगर वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।
सिद्धार्थ इक्विटी फण्ड-२ को इकाई आजदेखि खरिद गर्न सकिने, कति लगानी गर्न पाइन्छ ?
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आज वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड-२को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो । लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । उक्त फण्डको निष्काशन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।