सेयरधारण घटाउन राष्ट्र बैंकको समयसीमा, २०८७ असारसम्म नगरे कारबाहीको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी सेयर धारण गरेका लगानीकर्तालाई सीमा कायम गर्न समय दिएको छ । बैंक तथा वित्तीय संस्थामा निर्धारित सीमाभन्दा बढी लगानी गरेका सेयरधनीले २०८७ असार मसान्तभित्र आफ्नो लगानी तोकिएको सीमाभित्र ल्याइ सक्नुपर्नेछ । विसं २०८७ असार मसान्तभित्र अनिवार्य रूपमा लगानी सीमा कायम गर्न नसकेमा कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ । राष्ट्र बैंकका अनुसार कुनै एक बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको अधिकतम १५ प्रतिशतसम्म सेयर लगानी गर्न पाइन्छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको अधिकतम १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ । साथै ‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने उक्त सीमा क्रमशः २५ प्रतिशत र १० प्रतिशत तोकिएको छ । यद्यपि, सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापकको रूपमा गर्ने लगानीमा भने यो सीमा लागू हुने छैन । संस्थापक सेयरधनीहरूले हकमा तोकिएको सीमाभित्र सेयर स्वामित्व कायम नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश र बोनस सेयर रोक्का गरिनेछ । साथै, त्यस्ता सेयरधनीलाई सम्बन्धित संस्थाबाट जारी हुने हकप्रद सेयरमा सहभागी हुन समेत रोक लगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आवश्यक ठानेमा त्यस्ता बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको छ । तर, सेयरधनीले चाहेमा हकप्रद सेयरको हक हस्तान्तरण गर्न भने कुनै अवरोध नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । सभाले अध्यक्ष पाण्डेबाट प्रस्तुत भएको आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।
युनाइटेड इदी मार्दीको लाभांश घोषणा
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । घोषित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।