हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, कात्तिक ३० गते डाक्यो सभा
काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ। लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। त्यसैले कात्तिक १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
निरन्तर घट्दै सेयर कारोबार रकम, एक वर्षकै न्यून विन्दुमा नेप्से
काठमाडौं । साताको अन्तिम कारेबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २४८७ विन्दुमा झरेको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सेयर बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता बजार लगातार ओरालो लागिरहेको छ । बिहीबार ३११ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । मुक्तिनाथको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको १३ करोड, शिवम् सिमेन्टको ११ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ७९ लाख र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बैंकिङ सूचक ०.०२ प्रतिशत बढेको छ भने अरु सूचक घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशतले घटेका छन् ।
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा गत भदौमा ७३.१५ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचकांक गत भदौ मसान्तमा २६७२.२५ कायम भएको छ । गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, १ अर्ब ८३ करोड बराबरको बोनस सेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।