नेप्सेमा सूचीकृत कम्पनी विदेशी सेयर बजारमा पनि सूचीकृत हुन सक्ने

काठमाडौं । सरकारले पूँजी बजारलाई मर्यादित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित धितोपत्र बजारमा व्यापक सुधारका कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बताए ।

उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना अघि बढाइनेछ । साथै बजारमा नयाँ वित्तीय उपकरणहरू क्रमशः लागू गरिने योजना रहेको छ । इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ जस्ता उपकरणलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

बजेटमा सेयर बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । सेयर कर्नरिङ र इनसाइडर ट्रेडिङ जस्ता गैरकानुनी गतिविधिविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाइने उल्लेख गरिएको छ ।

त्यस्तै, नेपालमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच दिलाउने उद्देश्यले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सकिने व्यवस्था मिलाइनेछ ।

Share News