सम्पदा लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको थियो। सञ्चालक समितिको अध्यक्ष प्रदीप सिग्देल (शर्मा)को अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्ष शर्माले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन साथै विभिन्न प्रस्ताव पारित गरेको छ । सभामा विभिन्न सेयरधनीहरूबाट आएको जिज्ञासा, सल्लाह, सुझाव बारेमा शर्माले प्रष्ट पारेका थिए ।  कार्यक्रममा सञ्चालक समितिका पूर्वअध्यक्ष कृष्णबहादुर थापाले हालको अवस्थामा संस्थामा पुरानो कर्मचारीहरुलाई कसरी रिटेन्सन गर्न सकिन्छ सो को रणनीति बनाई वर्तमान परिपेक्ष्यअनुसार संस्थालाई अगाडि बढाउनु पर्ने बताएका थिए । साथै सेयरधनीलाई लागातार २ वर्षदेखि लाभांश नपाएकोले चालु आवमा केही प्रतिशत लाभांश आउनेगरी काम गर्न सझाव दिए । संस्थाको साधारण सभामा कुल १३५ जना सेयरधनीहरूको उपस्थिति रहेको थियो, जसले कुल कायम रहेको सेयरको ५२.२२ प्रतिशत अर्थात ३६,६०,०२२ कित्ता सेयरको प्रतिनिधित्व गर्दछ ।  उपस्थित सेयरधनीहरूमध्ये संस्थापकतर्फ २३ जना (१०,०२,४९२ कित्ता) आफै स्वयं उपस्थित थिए भने ८७ जना (२५,९१,३७५ कित्ता) प्रोक्सी मार्फत सहभागी भएका थिए ।  त्यसैगरी, सर्वसाधारण तर्फ १९ जना (४३,८९८ कित्ता) आफै उपस्थित थिए भने ६ जना (२२,२५७ कित्ता) सेयरधनीहरू प्रोक्सी मार्फत साधारण सभामा सहभागी भएका थिए । चालु आर्थिक वर्षको २०८३ वैशाख मसान्तसम्ममा संस्थाले देशका ४५ वटा जिल्लामा १५५ वटा शाखा कार्यालयहरू मार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ । यस सञ्जाल मार्फत संस्थाको पहुँच १ लाख ८३ हजार भन्दा बढी विपन्न परिवारहरूमा पुगेको छ ।  व्यवसायतर्फ संस्थाले हालसम्म २ अर्ब ९८ करोड रुपैयाँ बचत संकलन गर्न सफल भएको छ भने संस्थाको कुल लगानीमा रहेको कर्जा (लोन पोर्टफोलियो) १० अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

सूचीकृत कम्पनीको सेयर बेचेर टेक हब, पुँजी बजारका लागि कस्तो आयो बजेट ?

काठमाडौं । सरकारले पुँजी बजारलाई आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित ठूला नीतिगत सुधार घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धितोपत्र बजार, जलविद्युत, बीमा तथा सरकारी कम्पनीहरूको सेयर संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने व्यवस्था सार्वजनिक गरेका हुन् । सरकारले ठूला तथा जलाशययुक्त जलविद्युत आयोजनाको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीति ल्याएको छ । प्रवर्द्धकले सतप्रतिशत लगानी जलाशययुक्त आयोजनामा गर्ने सुनिश्चित गरेमा पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न सकिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । त्यसैगरी सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने व्यवस्था गरिएको छ । पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने सरकारको योजना छ । नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाइने र इन्ट्राडे, सर्ट सेलिङ तथा डेरिभेटिभ जस्ता उपकरण चरणबद्ध रूपमा सुरु गरिनेछ । साथै, सेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता अवाञ्छित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति अपनाइनेछ । विदेशी बजारमा सूचीकृत हुन चाहने कम्पनीका लागि ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने व्यवस्था मिलाइनेछ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा कर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरिने बजेटमा उल्लेख छ । धितोपत्र बजार व्यवस्थापन तथा कसुर र सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गरिनेछ भने वित्तीय ट्रष्टी नियमनका लागि ट्रष्टी विधेयक तर्जुमा गरिनेछ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्ने घोषणा गरेको छ । त्यसैगरी नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणमा बिक्री गरिनेछ । उक्त बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने उद्देश्यमा प्रयोग गरिने सरकारको योजना छ । सेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण तथा लिक्विडेशन प्रक्रिया सरल बनाइने पनि बजेटमा उल्लेख छ, जसले लगानी र मुनाफा फिर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

नेप्सेमा सूचीकृत कम्पनी विदेशी सेयर बजारमा पनि सूचीकृत हुन सक्ने

काठमाडौं । सरकारले पूँजी बजारलाई मर्यादित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित धितोपत्र बजारमा व्यापक सुधारका कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बताए । उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना अघि बढाइनेछ । साथै बजारमा नयाँ वित्तीय उपकरणहरू क्रमशः लागू गरिने योजना रहेको छ । इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ जस्ता उपकरणलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । बजेटमा सेयर बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । सेयर कर्नरिङ र इनसाइडर ट्रेडिङ जस्ता गैरकानुनी गतिविधिविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाइने उल्लेख गरिएको छ । त्यस्तै, नेपालमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच दिलाउने उद्देश्यले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सकिने व्यवस्था मिलाइनेछ ।