नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि आवेदन नदिए सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० चितवनमा रहेको छ ।
नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलित, सीईओ खोजिदिन अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले विगत २३ दिनदेखिकाे आन्दोलन जारी राखेका छन् । बोनस सुविधा पाउनु पर्ने भन्दै नेप्सेका कर्मचारीहरू २३ दिनदेखि आन्दोलन गरिरहेका हुन् । आज बुधबार २३ औँ दिनमा नेप्सेका कर्मचारीहरूले साढे २ घण्टा धर्ना तथा विरोध गरेकाे नेप्से कर्मचारी संघका अन्यक्ष नवराज थापाले जानकारी दिए । कर्मचारीहरूले असक्षम झोले सीईओ र अध्यक्ष राजीनामा दे भन्दै ब्यानर पनि प्रदर्शन गरेका छन् । साथै नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं २३ दिनदेखि हराइ रहेकाले खोजिदिन कर्मचारीहरूले अनुरोध गरेका छन् । आन्दोलन जारी रहेपनि सेवा पनि नियमित रहेको अध्यक्ष थापाको भनाइ छ । नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राखिरहेका छन् । साथै, श्रम अदालतले पनि कर्मचारीहरूलाई ५ प्रतिशत बोनस सेयर दिनु भनेर फैसला सुनाएको छ । तर, नेप्से सञ्चालक समितिको बैठकले भने श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिको निर्णय फिर्ता नलिएसम्म कर्मचारीहरुले सीईओ चापागाईं र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेका छन् ।
२५०५ अंकमा नेप्से, म्युचल फण्ड बाहेक सबै उपसूचक घटे
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २२ अंकले घटेर २ हजार ५०५ बिन्दुमा झरेको छ । आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३१८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको १३ करोड, युनियन हाइड्रोको १२ करोड, बुटवल पावर कम्पनीको ९ करोड र हिमालयन डिस्टीलरीको ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ । नेप्सेका अनुसार उपसूचकमा म्युचल फण्ड बाहेक सबै सूचक घटेका छन् । म्युचल फण्ड ०.२४ प्रतिशतले बढेको छ । बैंकिङ ०.०५, विकास बैंक १.१४, वित्त १.१०, होटल र पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, लाइफ इन्योरेन्स ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रो फाइनान्स ०.५६, नन लाइफ इन्स्योरेन्स ०.६५, अन्य १.२२ र व्यापार २.०९ प्रतिशतले घटेका छन् ।