नेपाल इन्स्योरेन्सले ६.३१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
सेयर बजारमा हरियाली, नेप्से २ हजार ६२५ बिन्दुमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार (आज) नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस १ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १८ करोड ९७ लाख ५४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ९९ लाख ८७ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् १९ करोड ९७ लाख ४१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादवले जानकारी दिए ।