आजसम्म सेयरधनी बने ग्लोबल आइएमई, गुराँस र मुक्तिनाथको लाभांश पाइने

काठमाडौं । आज विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषिले भोलि कात्तिक १४ गते र ग्लोबल आइएमईले कात्तिक १६ गते बुकक्लोज गर्दैछन् ।  त्यसैले आज कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । 

मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ । उक्त लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  हस्पिटलको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  सन् १९९६ मा स्थापित, मेडिकेयर अस्पताल करिब ३ दशकदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ । सानिमा र महतो ग्रुपको लगानीमा सञ्चालित मेडिकेयर हस्पिटलको काठमाडौंमा ८७ सैय्यामा चलिरहेको छ ।  सन् २०२४ मा हस्पिटलले ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

सेयर घट्दा पनि बढ्यो कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको थियो । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशतले बढेको छ । अन्य समूह १.२० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।