घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षका छोरा घाइते

काठमाडौं । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका-६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।  आक्रमणमा उनका ८ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

विदेशबाट फर्किएका विजय बने राष्ट्रिय उत्कृष्ट कृषक, माछाबाट लाखौँ आम्दानी

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी राष्ट्रियस्तरका उत्कृष्ट कृषकका रूपमा परिचित बन्न सफल भएका छन् । ७ वर्षअघि रोजगारीको खोजीमा मलेसिया गएका चौधरीले त्यहाँ तीन वर्ष मजदुरी गर्दै मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी गरेका थिए । विदेशको कठिन श्रमपछि स्वदेश फर्किएका उनले कृषि क्षेत्रमा भविष्य खोज्ने निर्णय गर्दै माछापालन व्यवसाय सुरु गरे । उनै चौधरी हाल कृषि, वन तथा वातावरण मन्त्रालयबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गर्न सफल भएका छन् । मन्त्रालयले सातै प्रदेशबाट २/२ जना गरी १४ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । पुरस्कार स्वरूप चौधरीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रपतिबाट सम्मानित भएपछि कृषि पेसाप्रतिको आफ्नो उत्साह झन् बढेको चौधरी बताउँछन् । ‘राष्ट्रपतिबाट सम्मान पाउँदा थप हौसला मिलेको छ,’ उनले भने, ‘अब युवालाई पनि कृषि तथा उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने गरी व्यवसाय विस्तार गर्ने योजना बनाएको छु ।’ चौधरीले विगत सात वर्षदेखि लालझाडीको सिकलपट्टी क्षेत्रमा तीन बिघा जमिनमा पोखरी निर्माण गरी व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर उत्पादन विस्तार गर्ने तयारीसमेत गरेका छन् । हाल वार्षिक करिब ४५ क्विन्टल माछा उत्पादन तथा बिक्री गर्दै आएका उनले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी बचत हुने बताए । ‘हाम्रो उत्पादन झलारी, बेलौरी, वाणीलगायत स्थानीय बजारमा खपत भइरहेको छ । सरकारले आयातित माछाको प्रतिस्पर्धा व्यवस्थापन गर्दै स्वदेशी उत्पादनको बजार सुनिश्चित गरिदिनुपर्छ,’ उनले भने ।  उनका अनुसार हरेक वर्ष असोजदेखि माघसम्म माछा बिक्रीको मुख्य सिजन हुने गर्दछ । माछापालन व्यवसायबाट आफूले मात्रै नभई स्थानीयस्तरमा अन्य व्यक्तिले पनि रोजगारी पाएको उल्लेख गर्दै चौधरीले युवाहरूलाई विदेशभन्दा स्वदेशमै अवसर खोज्न आग्रह गरे । ‘माटोमा पसिना बगाउन तयार हुने हो भने युवा विदेशिनु पर्दैन । नेपालमै राम्रो आम्दानी र सम्मान दुवै कमाउन सकिन्छ,’ उनले भने । 

सिएमसी बन्यो देशकै उत्कृष्ट मेडिकल कलेज, इजिप्ट र रुसमा पढ्नेको नतिजा शून्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ । जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी, उक्त परीक्षामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् ।   यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसीयामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ । काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले ७/८ पटक  परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा २ पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ । यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताए । कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वोत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भने, ‘आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।’ सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गरे । सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी÷एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी÷एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी १ हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।