नक्कली कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गर्ने ओमप्रसाद पाण्डे पक्राउ
काठमाडौं । नक्कली व्यवसाय खडा गरेर प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ९ रातोपुल बस्ने पाण्डेलाई आज धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्रांगणबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि नक्कली व्यवसाय खडा गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको गम्भीर आरोप लागेको छ । प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ मा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रालि नामक नक्कली कम्पनी खडा गरेका थिए । उक्त कम्पनीको एकल सञ्चालक समेत रहेका उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी/गराई बैंकबाट कर्जा लिएका थिए । प्रभु बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो रकम अन्यत्रै प्रयोग गरी उनले पटकपटक बैंकको पैसा दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । उक्त बैंकिङ कसूरको घटनामा संलग्न पाण्डेलाई पक्राउ गर्न सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट गत वर्षको २०८२ साल मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएको थियो । अदालतबाट अनुमति पाएको लामो समयपछि आज उनलाई धनुषाबाट पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान
काठमाडौं । जापान सरकारले नाबालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणिकरण लगायतका आवश्यक प्रतिबन्धहरु लागु गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ । क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशहरूमा देखिएको जस्तै पूर्ण उमेर–आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणको लागि सुरक्षित रुपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जापान सरकारको प्रतिवेदनले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्ने र सामाजि सञ्जालमा युवाहरूको निर्भरता कम गर्ने उद्देश्यले उपायहरूको वैकल्पिक व्यवस्था गरिने जनाएको छ । यो आवाह्न प्रविधिको तिव्र विकास र सामाजिक सञ्जालको उच्च उपयोगको बीचमा आएको छ , जसले आपराधिक गतिविधिहरूमा नाबालिगहरूको संलग्नता सहित उनीहरूको हानिकारक प्रभावहरू न्युनिकरण गर्ने उपायको खोजी गर्ने जनाइएको छ । क्योडो न्यूजका अनुसार, यो प्रयास हानिकारक वेबसाइटहरूमा पहुँच रोक्ने उदेश्यले अभिभावकको निगरानीको रूपमा आएको हो । गत वर्ष देखि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले युवा प्रयोगकर्ताहरूको सुरक्षामा सामाजिक सञ्जाल र स्मार्टफोन अपरेटिङ सिस्टमको भूमिका विस्तार गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ । पछिल्लो समयमा प्रस्ताव गरेका देशहरूको सूचीमा जापान सामावेश भएको छ भने ती मध्ये धेरैले नाबालिगहरूमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी कडा कानून लागू गरेका छन् । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि समाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्न कानुनी प्रक्रियालाई छिटै टुङ्ग्याउने लक्ष्य राखेको छ भने अस्ट्रेलियाले गत वर्ष १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसैगरी स्पेन र डेनमार्कले यो निर्णय माथि विचार गरिरहेको जनाइएको छ । रासस
महानगर यातायातका १६ नयाँ विद्युतीय बस चक्रपथमा सञ्चालन
काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ । सशीला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । साथै अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए । उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे। त्यसैगरी, महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए। उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । सशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए । महानगर यातायात प्रालिले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ ।