नेपालको पासपोर्ट र्यांकिङमा सुधार
काठमाडौं । नेपालले पासपोर्ट र्यांकिङमा ४ स्थान सुधार गरेको छ । हेन्ली पासपोर्ट इन्डेक्स- २०२६ को नयाँ प्रतिवेदनअनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नेपाल गत वर्ष १०१ स्थानमा रहेकोमा अहिले ९७औं स्थानमा आई सुधार गरेको हो । नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, दुवै देशको भिसा- फ्री स्कोर ३५ रहेको छ । प्रतिवेदनअनुसार सिंगापुर शीर्ष स्थानमा रहेको छ । त्यहाँका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन् । त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र तेस्रो स्थानमा स्विडेन रहेको छ। चौथो नम्बरमा बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लक्जम्बर्ग, नेदरल्यान्ड, नर्वे, स्पेन र स्विट्जरल्यान्ड रहेका छन् । त्यस्तै, पाँचौं स्थानमा अस्ट्रिया, ग्रिस, माल्टा र पोर्चुगल रहेका छन् । सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ । सूचीमा भारत ७८औं स्थानमा रहेको छ । गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो। चीन ५६औं स्थानमा रहेको छ । गत वर्ष चीन ६४औं स्थानमा थियो । त्यस्तै, पाकिस्तान ३० स्कोरका साथ १००औं स्थानमा रहँदा अफगानिस्तान सबैभन्दा अन्तिममा रहेको छ ।
विश्वभर हिंसा, अपहरण र यौन दुर्व्यवहारको जोखिममा बालबालिका
काठमाडौं । आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराएका हुन् । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउनसमेत नसक्ने अवस्थामा छन् । हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोधजस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन् । महासचिव एन्टोनियो गुटरेसद्वारा सार्वजनिक ‘बालबालिका र सशस्त्र द्वन्द्व’सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०२४ मा बालबालिकाविरुद्ध भएका गम्भीर उल्लङ्घनका घटना अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेका छन् । प्रतिवेदनमा विश्वभर २२ हजार ४९५ बालबालिकालाई प्रभावित पार्ने ४१ हजार ३७० गम्भीर उल्लङ्घनका घटना प्रमाणीकरण गरिएका उल्लेख छ । प्रतिवेदनमा सबैभन्दा बढी उल्लङ्घनका घटना इजरायल तथा अधीनस्थ प्यालेस्टिनी क्षेत्रमा आठ हजार ५५४, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा चार हजार ४३, सोमालियामा दुई हजार ५६८, नाइजेरियामा दुई हजार ४३६ र हैटीमा दुई हजार २६९ वटा अभिलेख गरिएका छन् । प्रतिवेदनअनुसार हत्या तथा शारीरिक क्षति बालबालिकाविरुद्ध हुने सबैभन्दा धेरै गम्भीर उल्लङ्घनका रूपमा देखिएको छ । सन् २०२४ मा मात्र ११ हजार ९६७ बालबालिका यसबाट प्रभावित भएका छन् । विस्फोटक पदार्थ, युद्धका अवशेष, बारुदी सुरुङ, अस्थायी विस्फोटक उपकरण तथा जनघनत्व बढी भएका क्षेत्रमा गरिएका आक्रमणका कारण अधिकांश बालबालिका पीडित भएका छन् । सशस्त्र समूह तथा सैन्य बलद्वारा हजारौँ बालबालिकालाई भर्ती गरी युद्ध तथा सहयोगी भूमिकामा प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । अपहरण तथा बाल सैनिकका रूपमा प्रयोग गरिने घटनामा वृद्धि भएको जनाइएको छ । बालबालिकाविरुद्ध हुने यौन हिंसाका घटनासमेत बढ्दै गएका छन् । विशेषगरी बालिकाहरू बढी प्रभावित भए पनि बालकहरू पनि यौन हिंसाको सिकार बनेका छन् । सामाजिक कलङ्क, प्रतिशोधको डर तथा पर्याप्त सहयोग सेवाको अभावका कारण यस्ता घटना अझै कम मात्रामा सार्वजनिक हुने गरेको राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा मानवीय सहायता पहुँचमा अवरोधसमेत चिन्ताजनक रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वरत पक्षहरूले राहत सामग्री बोकेका सवारीसाधन र सहायता कर्मीमाथि आक्रमण गर्नुका साथै आवतजावतमा प्रतिबन्ध र प्रशासनिक अवरोध सिर्जना गर्दा बालबालिका स्वास्थ्य, शिक्षा र संरक्षणलगायत आधारभूत सेवाबाट वञ्चित भएका छन् । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विद्यालय र अस्पतालमाथि करिब दुई हजार आक्रमण भएको पुष्टि गरेको छ । यस्ता घटनाले बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँच थप प्रभावित भएको तथा द्वन्द्वग्रस्त क्षेत्रमा उनीहरूको जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ । उक्त विश्वसंस्थाले बालबालिकामाथि हुने गम्भीर उल्लङ्घन अन्त्य गर्न द्वन्द्वका मूल कारण समाधान, दोषीमाथि जवाफदेहिता सुनिश्चित तथा बाल संरक्षण, पुनःस्थापना र पुनःएकीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । यसैबीच, बालअधिकार अभियन्ता तथा संयुक्त राष्ट्रसङ्घको ‘बालबालिका र सशस्त्र द्वन्द्व’ सम्बन्धी ऐतिहासिक प्रतिवेदनकी लेखक डा ग्रासा माशेलले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु वयस्कहरूको साझा दायित्व भएको बताएका छन् । उनले प्रत्येक बालबालिकाको अधिकार सुरक्षित र सुनिश्चित हुने शान्तिपूर्ण विश्व निर्माणका लागि अन्तरराष्ट्रिय समुदायले थप प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिएका छन् । 'बालबालिका सबैभन्दा पहिले बालबालिका नै हुन् । उनीहरूको संरक्षण गर्नु र उनीहरूका सबै अधिकार सुनिश्चित हुने शान्तिपूर्ण संसार निर्माण गर्नु हाम्रो दायित्व हो', उनले यस अवसरमा जारी गरेको सन्देशमा भनेका छन् । रासस
डोटीका एक किशोर बेपत्ता
काठमाडौं । डोटीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ घर भएका १६ वर्षीय रविन्द्र शाही बेपत्ता भएका हुन्। परिवारका अनुसार रविन्द्र माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएपछि रोजगारीका लागि काठमाडौं आएका थिए । उनले अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा काम गर्दै आएका थिए । शाही जेठ ५ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। प्रहरीलाई दिएको जानकारीअनुसार उनको मोबाइल फोनको अन्तिम लोकेसन सिंहदरबार क्षेत्र देखिएको थियो । त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । उचाइ करिब ५ फिट र गहुँगोरो वर्णका रविन्द्रलाई कसैले देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा बुझाउन परिवारले आग्रह गरेको छ । परिवारले उनको खोजी कार्यका लागि प्रहरीसमक्ष निवेदन दिइसकेको छ। रविन्द्रको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था र ठेगाना खुल्न नसकेको परिवारले जनाएको छ ।