काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४४५ सवारीचालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन् । सो कारबाहीबाट राज्य कोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको हो ।
त्यस्तै लेन अनुशासन पालना नगर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १४ जना र एकतर्फी सडकमा सवारी चलाउने १६६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जना चालकसमेत कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले सवारी अनुशासन कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ ।