काठमाडौं । रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत निर्माणाधीन सिमरा-बर्दिबास रेल खण्डको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ ।
रेल योजना कार्यालय लालबन्दी, सर्लाहीले निर्माण व्यवसायी महालक्ष्मी/हिरा एण्ड नमिता जेभीसँग भएको खरिद सम्झौता अन्त्य गर्ने तयारी गर्दै १५ दिने स्पष्टीकरण सोधेको हो ।
आयोजनाको विवरणअनुसार रेल विभाग र उक्त कम्पनीबीच २०७० मङ्सिर २१ गते सम्झौता भएको थियो । पछि २०७७ मङ्सिर २८ गते योजना हस्तान्तरण भई रेल योजना कार्यालय, लालबन्दीमा कार्यान्वयन भइरहेको थियो ।
सम्झौताअनुसार सिमरा-बर्दिबास खण्डअन्तर्गत चेन ७९+६०० देखि ८०+५०० सम्मको रेल ट्र्याक बेड निर्माण कार्य २०८२ कात्तिक २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर पटक-पटक लिखित तथा मौखिक ताकेता गरिए पनि निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको पाइएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सम्बन्धित उपदफाहरूअनुसार सम्झौता उल्लङ्घन भएको ठहर गर्दै सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको योजना कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीलाई सम्झौता किन अन्त्य गर्नु नपर्ने भन्ने विषयमा मनासिब कारण भए १५ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।