यी हुन् कान्तिपुर सहकारीका १०० ऋणी (विवरणसहित)
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको हो । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।
सहमति जुट्छ भने म सल्लाहकार बस्न मञ्जुर छु : उत्तम भ्लोन लामा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार उत्तम भ्लोन लामाले संस्थाको वृहत्तर हित र एकताका लागि आफू पद छोड्न तयार रहेको घोषणा गरेका छन् । उर्जा क्षेत्रको विकासका लागि अबको इप्पान कार्यक्रममा बोल्दै लामाले व्यक्तिगत पदभन्दा संस्थाको गरिमा र एकता ठूलो भएको बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका दाबेदार लामाले संस्थाभित्र निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘इप्पानलाई एकताबद्ध बनाएर लैजानका लागि यदि कार्यसमितिका सबै साथीहरूले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्नुहुन्छ भने म आजैका मितिदेखि आफ्नो दाबी छोडेर सल्लाहकारको रूपमा सहयोग गर्न तयार छु ।’ संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको तर्क थियो । लामाले इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव गरे । विधान संशोधनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले ६ महिनाभित्र विधान परिमार्जन र एक वर्षभित्र चुनाव गराउने कार्ययोजनाका साथ आफूहरू अघि बढिरहेको स्पष्ट पारे । संस्था दर्ता ऐन र कानुनी जटिलताहरूका कारण केही समय ढिलाइ भए पनि संस्थालाई समावेशी र खुला बनाउने अभियान नरोकिने उनले बताए । नेतृत्वमा नैतिकता हुनुपर्ने कुरामा जोड दिँदै लामाले आफू नेतृत्वमा आए पनि लामो समय पद ओगटेर नबस्ने घोषणा गरे । उनले भने, ‘म नेतृत्वमा आएँ भने पनि दुई वर्षभन्दा बढी पदमा बस्ने छैन । नेतृत्व हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई अवसर दिने संस्कार हामीले बसाल्नुपर्छ ।’ परिवर्तनको एजेन्डा र इतिहास आफू इप्पानमा सधैं परिवर्तन र सुधारको पक्षमा उभिएको स्मरण गर्दै उनले कृष्ण आचार्यको पालादेखि नै संस्थागत सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । इप्पान सबैको पहुँचमा पुग्ने साझा चौतारी हुनुपर्ने र यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उनको भनाइ थियो ।
महानगर छात्रवृत्ति : विवरण सच्याउन र पुनर्योगका लागि परे सयौं निवेदन
काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् । जेठ १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका हुन् । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिएका छन् । यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बीचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गरेको खड्काले जानकारी दिए । केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन् । समितिका सदस्य सचिव खड्काका अनुसार यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन । विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।