रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।  सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो ।  यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो । रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।  सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।  उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’ ढाँटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हासिल गरेका हुन् ।  यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटरसमेत बने ।   यस्तै, महानगरले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।   त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग पराजय बेहोरेको थियो । 

६० प्रतिशत नगरवासी भरतपुर महानगरको सेवाप्रति सन्तुष्ट

चितवन । भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक वर्ष २०८१/८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाईमा सहभागी अधिकाशं महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासगैँ ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् । सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको अग्रीम मिडिया नेटर्वक चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको छ । २९ वटाका ५ सय जना बढीमा गरिएको सेवा सर्वेक्षणमा ६० प्रतिशत नगरवासी सन्तुष्ट, ३५ प्रतिशतले ठिकै र ५ प्रतिशत नगरवासीले असन्तुष्टी व्यक्त गरेको उल्लेख गरेका छन् । सो अवसरमा गौतम बुद्ध क्रिकेट रंगशाला, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, पुंगी तथा केरुङ्गा ड्रेन, महानगरीय प्रशासकीय भवन, शवदाह गृह, महानगरीय चक्रपथ, ओपन जु, फोहरमैला व्यवस्थापन लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ति, विद्युत, ढल निर्माण, कृषि उपजको बजारिकरण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाल प्रति प्रश्न राखेका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छन् । उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसगौ आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताए । कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को विनियोजित ५ अर्ब ४९ करोड २ लाख ६३ हजार रहेकोमा ४ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको उल्लेख गरे । यो बजेटको ७३ दशमलव ५ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८५ प्रतिशत र पुँगिगततर्फ ६२ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ३६ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

डेंगी संक्रमण फैलिन नदिन सबैले सजगता अपनाउनु आवश्यक छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले डेंगुको संक्रमण फैलन नदिन सबैले सजगता अपनाउनु पर्ने बताएका छन् । सोमबार महानगरमा आयोजित डेंगु नियन्त्रणसम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा उनले उक्त कुरा बताएका हुन् । प्रमुख महर्जनले भने, ‘हाम्रो सजगताले डेंगी फैलाउने लामखुट्टेको वृद्धि र विकास हुन सक्दैन, त्यसैले सावधानी अपनाऔं ।’ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भवन पौडेलले सामान्य सतर्कताले डेंगी रोगबाट जोगिन सकिने जानकारी दिए । कार्यक्रममा विषयगत समितिका संयोजकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि महानगरले महानगर क्षेत्रभित्र स्थलगत निरीक्षण गर्दा पिकनिक स्थल, धार्मिक स्थल, खेलमैदानहरू, शिक्षण संस्थाहरू भित्र पेय पदार्थ सेवन गरी जथाभावी फ्याँकिएको भेटिएको थियो । त्यसलगत्तै महानगरले लामखुट्टेको वृद्धि विकास हुने हुँदा डेंगी रोग नियन्त्रण नभए सम्म महानगर क्षेत्र भित्र प्लाष्टिकका कपहरू प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।