वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ । कामपा सहकारी विभाग प्रमुख महेश कुमार काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो । खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि एकिन हुनुपर्ने जनाइएको छ । कामपाले २ महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ । हाल कामपामा करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् ।
भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबार राजीनामा दिएकी छन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् । दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताइन् ।
ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न, पूँजीगत खर्च २४ प्रतिशत
ललितपुर । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) आइतबार (आज) सम्पन्न भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनुअघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे । जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पुँजीगत खर्च बढी भएको देखिन्छ ।’ महर्जनले पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी छ महिनामा यो खर्च बढ्नेगरी काम गर्न अनुरोध गरे । आर्थिक वर्ष २०८२÷२०८३ को हालसम्मको पूँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीबीचकौ टिमवर्कको कारण उपलब्धि हासिल गरेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् । उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिकको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।