फिर्केखोलामा डोजर, मेयर आचार्य एक्सनमा
काठमाडौं । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर, फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आइतबारदेखि अभियानका रूपमा हटाउन सुरु गरिने भएको छ । महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाउन लागेको हो । महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नेछन् । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ । महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा-२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा-४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा-७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । ‘फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौं,’ महानगर प्रमुख आचार्यले भने । महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ । यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका-१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।
२०५ रोपनीबाट ६० मा खुम्चिएको पोखरा बसपार्क जगाउने तयारी, उठ्दैछन् टहरा
काठमाडौं । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ । समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरुलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरु रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३१/३२ तिर २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुमवासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने भएको हो ।
ट्रेड युनियन महासंघले ४ रोपनी जग्गा नगर विकास समितिलाई गर्यो फिर्ता
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा शनिबार (आज) फिर्ता गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वीचोकमा रहेको सार्वजनिक जग्गामा महासङ्घले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो । पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिको सार्वजनिक जग्गा स्वीकृति लिएर वा नलिईकन बनाइएका संरचना खाली गर्नका लागि दिएको ३५ दिने सूचनाको म्याद सकिनु एक दिनअघि महासङ्घले आफूले निर्माण गरेका संरचना बुझाएको हो । ट्रेड युनियन महासङ्घले विसं २०६७ मा करिब एक करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी आज महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका हुन् । भवनको साँचो बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुआतका रूपमा उल्लेख गरे । उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढङ्गले भवनको चाबी बुझाएको महासङ्घप्रति उनले आभार व्यक्त गरे । पोखरा महानगरपालिका सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए। उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति वा सङ्घसंस्थाहरुलाई तत्काल खाली गर्न अनुरोध गरे । “पोखरा महानगर सार्वजनिक जमिनको संरक्षण अभियानमा रहेको छ । राज्यका अन्य निकायहरुले समेत सार्वजनिक सम्पत्तिको रक्षाका लागि पटक पटक ताकेता गर्दै आएका छन्,” प्रमुख आचार्यले भने । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले भोग चलन गर्दै आइरहेका छन् । पोखराको पृथ्वी चोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेकाले सो क्षेत्रसहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद आज सकिँदैछ । महानगरले बसपार्कका संरचना खाली गर्नुअघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुमवासीको विवरण सङ्कलन गरेको छ । महानगरका अनुसार शुक्रबारसम्मको विवरण सङ्कलनको समयसीमासम्ममा बसपार्कका ५७५ जनाले नाम दर्ता गराएका छन् ।