राजगढ गाउँपालिकाका वडा अध्यक्ष साहको निधन

राजविराज । राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् ।  जनता समाजवादी पार्टीबाट निर्वाचित  उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उजका दुई छोरा र तीन छोरी छन् ।   

एमाले महासचिवको क्षेत्रमा मेयर र वडाध्यक्षबीच विवाद : राजीनामा बुझाएको दुई वर्षपछि स्वीकृत

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मेयर र उपमेयर विवाद अन्ततः वडाध्यक्षको राजीनामासम्म पुगेको छ । दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र वडा- ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहबीच दुई वर्षदेखि चलेको विवाद शाहको राजीनामासँगै टुंगिएको हो । आफ्नो वडालाई बजेट विनियोजनमा पक्षपात गरेको भन्दै २०८० असार १२ गते शाहले राजीनामा दिएका थिए । तर मेयर चौधरीले दुई वर्षपछि आज सोमबार बिहान मात्रै शाहको राजीनामा स्वीकार गरेको उपमहानगर स्रोतले बताएको छ ।  मेयर चौधरी पनि अध्यक्ष शाहको राजीनामा स्वीकृत गरेर काठामाडौंतर्फ लागेका छन् । काठमाडौं उड्न नेपालगञ्ज विमानस्थलमा रहेका मेयर चौधरीले अध्यक्ष शाहको राजीनामा स्वीकृत भएको जानकारी दिए ।  राजीनामा दिएका अध्यक्ष शाहले यसबारेमा बोल्न चाहेनन् । राजीनामा लामो समय कोटको खल्तीमा राखेर सम्झाउँदा पनि उनको आनीबानीमा कुनै सुधार नदेखेपछि आफूले राजीनामा स्वीकृत गरेको मेयर चौधरीले जानकारी दिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रसमेत रहेको घोराही उपमहानगरमा एमालेबाटै निर्वाचित पदाधिकारीहरूबीच विवाद रहँदै आएको एक वडाध्यक्षले जानकारी दिए ।  वडाध्यक्ष शाहले नेपाली कांग्रेसका उमेदवारलाई पराजित गरेका थिए । शाहको राजीनामा स्वीकृत भएसँगै जेष्ठ वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडाध्यक्ष तोकिएको उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिए । 

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

बलेवा । बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो ।  यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो ।  'औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ ' महाशाखा कँडेलले भने, 'सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनााउन सकेको छ ।'  तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शीर्षकमा दुई दर्जनबढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो ।  सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको उनले बताए ।  तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए ।  उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए ।  उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिए । सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उनले बताए । रासस