वैशाख १२ र १३ गतेको वर्षाले २ पालिकामा मात्रै ४६ करोडको क्षति

काठमाडौं । गत वैशाख १२ र १३ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको २ स्थानीय तहमा करोडौंको क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले कृषि क्षेत्रमा पुर्याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् ।

कृषि कार्यालयको विवरणअनुसार बेथानचोक-१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिक टन कृषि बाली उत्पादनमा क्षति पुगेको छ । आलु, तोरी, सर्स्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । 

यस्तै तरकारी र फलफूलका बिरुवा पनि नस्ट भएका छन् भने वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा १ हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण उल्लेख छ ।

यसैगरी उक्त गाउँपालिकामा कागती, सुन्तला र बोधिचित्तका फुल, तरकारी बालीमा अधिक क्षति भएको गाउँपालिकाले समेत जनाएको छ । करिब ६५ लाख रूपैयाँ बराबरको उत्पादनमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र पन्त जानकारी दिए । 

त्यस्तै पनौती नगरमा आलु ४३ करोड २६ लाख रूपैयाँ क्षति भएको विवरण बुझाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिक टन आलुमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

ओलीले कृषि कार्यालयमा बुझाएको विवरणमा ५०० टनेल २५ लाख रुपैयाँ, १० हेक्टरमा लगाइएको गोलभेँडा २५० मेट्रिकटन अनुसार १ करोड २५ लाख रुपैयाँ र १० हेक्टरमा लगाएको काक्रा ३०० मेट्रिकटन अर्थात् १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताए । पनौतीमा मात्रै ४६ करोड रुपैयाँको कृषि बालीमा क्षति भएको नगरपालिकाको दावी छ ।

यसैबीच उक्त वर्षाले धुलिखेल नगरपालिका-१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडामा भएको क्षतिको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई अन्न बाली, तरकारी बालीमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरिएको बताए । उनका अनुसार विसं २०८१ असोज १०-१२ को वर्षाले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्दै प्रदेश सरकारमा पठाउँदै आएको राहत वितरण गरिरहेको छ ।

वैशाख दोस्रो साताको वर्षापछि काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिकसहितको टोलीले दुवै नगरमा पुगेको क्षतिबारे स्थानीयसँग जानकारी लिँदै एकिन विवरण वडा कार्यालयलाई उपलब्ध गराइदिन सुझाव दिए । उनले स्थलगत अनुगमन गर्दै भने, ‘क्षतिको एकिन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा समेत विषय उठान गर्नेछु ।’

Share News