वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।   मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए ।  उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । 'अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्', महानगर प्रमुख सिंहले भने ।    यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब ७० करोड रुपैयाँ रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए ।  आइतबार बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो ।  

सर्लाहीको विष्णु गाउँपालिकाबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।      ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।      इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किसानलाई भिमाद नगरपालिकामा दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।  दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।   नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।  नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ ।  यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।