काठमाडौं महानगरले बढायो कक्षा ११–१२ को छात्रवृत्ति, अब १५ प्रतिशतसम्म विद्यार्थीले पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि विद्यार्थीलाई दिने छात्रवृत्ति बढाएको छ । जेठ ३ गते बसेको कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा छात्रवृत्ति बढाउने व्यवस्था थप  गरेसँगै छात्रवृत्ति पाउने प्रतिशत बढाएको हो । 

यसअगाडि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको महानगरले अब विद्यालयमा विद्यार्थीको संख्याका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । जस अनुसार पाँच सय भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने छ भने ८ सय जनासम्म विद्यार्थी संख्या भएको विद्यालयले १२ प्रतिशत र ८ सयभन्दा धेरै विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ । 

यसअघि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७७ बमोजिम कार्यविधिमा यो वर्गीकरण राखेको महानगरले जनाएको छ । छात्रवृत्ति वितरणलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित र दिगो बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो । 

कार्यविधिले महानगरपालिका भित्रका स्थायी बसोबास भएका संस्थागत र सामुदायिक जुनसुकै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई १९ प्रतिशत, जुनसुकै स्थानका भए पनि संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूका लागि प्रदान गरिने छात्रवृत्तिको संख्या १० प्रतिशत बनाएको छ । 

Share News