महानगरको ‘एक विद्यालय-एक सम्पदा’ कार्यक्रम : विद्यार्थीले मठमन्दिर, पाटीपौवा र धारा संरक्षण गर्ने
ललितपुर । ललितपुर महानगरपालिकाले विद्यार्थीलाई सम्पदा संरक्षणमा जोड्न नयाँ कार्यक्रम ‘एक विद्यालय–एक सम्पदा’ सुरु गरेको छ । बुधबार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग छलफल गर्दै यो कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो विद्यालय नजिकै वा पायक पर्ने सम्पदाको सरसफाइ र संरक्षण गर्ने जिम्मेवारी लिनेछन् । ढुंगेधारा, पाटी–पौवा, बौद्ध विहार, मठमन्दिर, स्तुपा र प्रमुख पोखरी जस्ता सम्पदामा विद्यार्थी सक्रिय हुने महानगरले जनाएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले यसलाई महानगरको ‘ड्रिम प्रोजेक्ट’ भन्दै, 'विद्यार्थीले देखेर र छोएर सिकेका कुरा जीवनभर सम्झिन्छन्, यसले सम्पदा संरक्षणप्रति चासो र चेतना बढाउँछ,' भने । सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने र सम्पदाको प्रचारप्रसारमा मद्दत गर्ने विश्वास व्यक्त गरे । शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलका अनुसार, कार्यक्रम महानगरका सबै २९ वटै वडामा सञ्चालन हुनेछ । अनुगमनका लागि पाँच सदस्यीय तीनवटा समिति गठन गरिएको छ । समितिको मूल्यांकनमा उत्कृष्ट काम गर्ने विद्यालयलाई आगामी पुस २ गते, महानगरको १०७ औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिनेछ । कार्यक्रमअन्तर्गत संकलित फोहोरको तत्काल व्यवस्थापन वातावरण शाखाले गर्ने व्यवस्था गरिएको छ ।
विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मङ्गलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो । जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरुसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन गर्नुपरेको प्रयागलाल बुढाले बताए। यस्तै सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले माझ गाउँवासीलाई मात्रै नभएर आफूलाई समेत कुनै जानकारी नगराइ विद्यालय समायोजन गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागिपरेका छन् । विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरु आन्दोलनमा उत्रिदै वडा कार्यालय बन्द गरेपछि वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प रहेको वडाध्यक्ष बलबहादुर कार्कीले बताए । सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएका र बाँकी २५ मात्रै विद्यार्थी भएको हुँदा सबै पायक पर्ने भएर बिहानीमा यो विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताए । सबै विद्यार्थी बिहानी जाने भएको हुँदा विद्यालय समायोजन र कर्मचारी पदास्थानको पत्र वडामा आइपुगेको उनको भनाइ थियो । सिर्जनशील विद्यालय दुई वर्षअघि नै बिहानीसँग समायोजन गर्ने सहमति भएको थियो । अहिले आएर यहाँका अभिभावक आन्दोलित बनेका छन् । रासस
मासुका लागि राँगा पालन, एउटा राँगाको मूल्य ६० हजारसम्म
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगा पालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित ४३ लाख रुपैयाँबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४ सय वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३ वटा, वडा नं. ४ खाल्लेमा ५९ वटा, वडा नं. ५ लफ्याङमा ५२ वटा, वडा नं. ७ दोर्पाचिउरी डाँडामा १५ वटा र वडा नं. १५ विजय खर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरि दिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ । नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए । ‘अघिल्लो वर्ष यो कार्यक्रम अन्तर्गत ४ सय वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । एउटा राँगाको मूल्य ६० हजार रुपैयाँसम्म पुगेको छ, चालु आवमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ,’ उनले भने । राँगा तथा भैँसी पालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरूलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेज प्रकाश जैसीले बताए । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रुपैयाँ रकम भित्रिने आँकलन गरिएको छ ।