नगर प्रमुखले जग्गा दान गरेपछि निर्माण भयो प्रशासनिक भवन

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगर प्रमुख वैजनाथप्रसाद यादव ले भवन निर्माणका लागि जग्गा दान दिएपछि नगरपालिकाले आफ्नै भवन पाएको हो ।

विगत ९ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाको कार्यालय यस वर्षदेखि आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगर प्रमुख यादवले माधवनारायण नगरपालिका-६, माधोपुर बजारस्थित आफ्नो नाममा रहेको ५ कठ्ठा तथा आफूले सञ्चालन गरेको मठको नाममा रहेको थप ५ कठ्ठा गरी १० कठ्ठा जमिन नगरपालिकालाई दान गरेका थिए ।

नगर प्रमुख यादवका अनुसार उक्त जग्गा नगरपालिकाको नाममा दर्ता गरी प्रशासनिक भवन निर्माण गरिएको हो । हाल सोही भवनबाट नगरपालिकाका सबै शाखा, प्राविधिक सेवा, कार्यसमिति तथा अन्य प्रशासनिक सेवा सञ्चालन भइरहेका छन् ।

नगर प्रमुख यादवले नगरको दीर्घकालीन विकास र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरिएको बताए ।

नगरपालिकाका इन्जिनियर नागेन्द्र यादव का अनुसार भवन निर्माणमा नगरपालिकाको करिब ६ करोड रुपैयाँ तथा स्थानीय पूर्वाधार विभाग मार्फत थप ६ करोड रुपैयाँ अनुदान गरी कुल १२ करोड रुपैयाँ लागत लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मी ले जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सहकार्य रहेकाले प्रशासनिक कामकाज प्रभावकारी बनेको बताए। आफ्नै भवन भएपछि सेवा प्रवाह थप सहज भएको उनको भनाइ छ ।

यसैबीच चन्द्रपुर नगरपालिका मा प्रशासनिक भवन अभावका कारण कामकाजमा समस्या भइरहेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवनमा आगजनी भएपछि हाल कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको नगर प्रमुख सञ्जयकुमार काफ्ले ले जानकारी दिए ।

उनका अनुसार भवन पुनः निर्माणका लागि प्राविधिक तयारीको काम अघि बढिरहेको छ।

Share News