पृथ्वीराजमार्ग दैनिक ४ घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिए ।योजना प्रमुख कुँबरले पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेको जानकारी दिए । मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ । मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए । यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । रासस
सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।
अन्तर्देशीय प्रसारण लाइन निर्माणमा ३ अर्ब लगानी गर्दै नेपाल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा २ अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली ४/४ केभी क्षमताका अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति २ देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तर्देशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् । प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ । नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।