एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, 'घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।' मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले भने, 'पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।' आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

१६ करोडमा मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ । प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत्गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए । 'पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ', उनले भने, 'सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।' अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत्गृहको हेड ३३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु १६ करोड अनुमान गरिएको केसीले बताए । रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए ।  रासस

पूर्व-पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता

काठमाडौं । पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।  मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।  मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।  मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे । पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।  चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित) मा ठेक्का समझौता भएको थियो ।  सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।