काठमाडौं । लगातारको वर्षा र त्यसका कारण विभिन्न स्थानमा खसेको पहिरोका कारण देशभरका चार वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको पछिल्लो विवरण अनुसार, पहाडी तथा हिमाली जिल्ला जोड्ने प्रमुख सडकखण्डहरूमा यातायात सेवा ठप्प भएको हो ।
प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा सडक अवरुद्ध भएको छ। यसले गर्दा झापादेखि ताप्लेजुङसम्म चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
यस्तै, चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर २ र ४ मा खसेको पहिरोका कारण यो सडकखण्डमा सवारी आवगमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सालझण्डी-ढोरपाटन सडकखण्ड पनि पहिरोको चपेटामा परेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुङ्ग्रेखोलामा खसेको पहिरोले गर्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।
यसैगरी, सम्भावित ठुलो जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बुधबार साँझदेखि बीपी राजमार्ग र कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
यी सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने र सडक बगाउन सक्ने खतरा रहेकाले पूर्वसावधानी स्वरूप यातायात बन्द गरिएको प्रहरीको भनाइ छ ।
अवरुद्ध राजमार्गहरू खुलाउन स्थानीय प्रशासन र सडक विभागको टोली परिचालित भए पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएका कारण पन्छाउने कार्यमा कठिनाइ भइरहेको छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
