काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बुधबार जानकारी गराउँदै आयोजनाको हेडवर्क्स क्षेत्रमा मंगलबार राति ११ बजेतिर आएको बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन रोकिएको जनाएको हो ।
कम्पनीका अनुसार बाढीका कारण आयोजनाको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको कम्पनीले जनाएको छ ।
क्षतिको यकिन विवरण प्राप्त भएपछि आयोजनाको अवस्था र विद्युत् उत्पादन पुनः सञ्चालनबारे थप जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।