जलविद्युत् आयोजना मर्मत नहुँदा ७ सय परिवार बिजुलीबाट वञ्चित

मुगु । मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा मुगु नेर, ताजा गाउँका दुई सय र हुम्ला जैर गाउँका पाँच सय परिवार बिजुलीबाट वञ्चित भएका हुन् । नेरखोला जलविद्युत् आयोजनाबाट करिब ६५ किलोवाट विद्युत् उत्पादन भई मुगु नेर, ताँजा गाउँ र हुम्ला जैर गाउँ बत्तीले झिलीमिली हुँदा स्थानीय बासिन्दा खुसी भएका थिए । गत मङ्सिरदेखि विद्युत् सेवा बन्द हुँदा स्थानीयवासी चिन्तित छन् । बिजुली नहुँदा कामकाज गर्न समस्या भएको नेर गाउँका कलिमान नेपालीले बताए । उनले भने, ’बत्ती नबल्दा छोराछोरीको पढाइमा बाधा पुगेको छ, घरको अन्य काम गर्न असहज भएको छ ।’ बिजुली अवरुद्ध भएपछि दियालो बाल्नुपर्ने अवस्था आएको नेर गाउँका चीनबहादुर शाहीले बताए । मर्मत गर्न ढिलाइ हुँदा मुगु नेर, ताँजा र हुम्ला जैर गाउँका बासिन्दा मर्कामा परेका छन् । नेरखोला जलविद्युत् आयोजनामा दक्ष अपरेटर नहुँदा समस्या देखिएको छ । विद्युत्को सामान्य उपकरणमा गडबडी भई विद्युत् बन्द हुँदा जिल्ला बाहिरबाट मिस्त्री बोलाएर मर्मत गर्नुपर्ने अवस्था छ । दक्ष अपरेटरको अभावले सामान्य मेसिन बिग्रिए पनि जिल्ला बाहिरबाट मिस्त्री बोलाइ मर्मत गर्नुपर्ने हुन्छ । यसबाट आर्थिक भार बढ्ने अपरेटर हरिबहादुर शाहीले बताए । उनले भने, ’कुन ठाउँमा के बिग्रियो मलाई थाहा हुँदैन । बाहिरबाट मिस्त्री नआउँदासम्म सेवा बन्द रहन्छ ।’ नेरखोला विद्युत् सेवा मर्मतका लागि पहल भइरहेको वडाअध्यक्ष पृथ्वीबहादुर मल्लले बताए । दक्ष प्राविधिक नहुँदा समस्या भएको हो  । रासस

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

काठमाडौं । पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गरेको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो । आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुङ्गेलले राससलाई जानकारी दिए । शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उनको भनाइ थियो । ढुङ्गेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन् । ‘पुलका लागि आधा फलाम ठड्याएर अलपत्र छोड्दा पैदल यात्रु हिँड्दा समस्यामा पर्न थालेका हुन्’, उनले भने । महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताए । उनका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ । पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिए । उनका अनुसार वडाले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ । ‘हाइटेन्सन लाइन हटाउन महानगरपालिकाले पैसा दिन्छु भनिरहँदा नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छैन’, उनले भने । मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ । वर्षौंदेखि अलपत्र बनेको पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मैना भण्डारीले गुनासो गरे । ‘नियमित काम गरे एक हप्तामा सकिने यस्ता काममा वर्षौं बित्दासमेत सरोकारवाला निकायको ध्यान नजानु दुःखद् हो’, उनले भने, ‘पुल समयमै सम्पन्न भए पैदल यात्रुका कारण हुने सवारी जाम केही भएपनि व्यवस्थित हुने थियो ।’ रासस

मध्यपहाडी राजमार्ग : बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

गलकोट । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ । पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रको जिम्मा पाएको सूर्य कन्ट्रक्सनसँगको सम्झौता यही साता रद्द गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिईन् । ‘विसं २०७२ मा दुई वर्षलाई ठेक्का सम्झौता भएको थियो, सात वर्ष पूरा भइसक्दासमेत काम भएन, जनताले निरन्तर आन्दोलन गरिरहेका छन्, पाँचपटक म्याद थप गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ’, उनले भने, ‘अब बागलुङबाट बिहुँसम्मको १३ किमी सडकको समेत ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेका छौँ, निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बागलुङको दुर्गम गाउँमा राजमार्गको सडक कालोपत्र भए पनि जिल्ला सदरमुकाम खण्डको सडक कालोपत्र नभएर जीर्ण बनेको छ ।’ उनका अनुसार निर्माण व्यवसायी अदालत जाने समय बाँकी रहेको र अदालतबाट समेत ठेक्का रद्दलाई निरन्तरता भए एक वर्षभित्रै नयाँ ठेक्कामा जाने तयारी गरिएको छ । बागलुङ बजारबाट घोडाबाँधे सडकको दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरेका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्ने गरी प्रक्रिया अगाडि बढाइएकामा उपल्लो खण्ड बिहुँ घोडाबाँधे सडकको सम्झौता रद्द भइसकेको हो । बिहुँका नागरिकले चरणबद्धरूपमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायलाई निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्न थप दबाब भएको थियो । बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो बिहुबाट घोडाबाँधे खण्डमा छ किलोमिटर सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको थियो । उक्त खण्डको पाँचपटक म्याद थप गर्दा जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । यस्तै उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेकाले उक्त खण्डको समेत ठेक्का रद्द गर्नका लागि आयोजनाले प्रक्रिया थालेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । रासस