हेवाखोलामा ३ हप्तासम्म जडान भएन बेलिब्रिज

फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन । यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ । तीन साता भइसक्दा पनि पुनः सञ्चालन आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालीकासँग सडक सम्पर्कविच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता वितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ । केही पटक ‘ड्राइबर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुदैँ छ । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् । राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउनुहुँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थिए । संघीय सरकारलेनै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन् । अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जानएको छ । सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन वित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौंको सङ्ख्यामा यात्रलाई सास्ती खेप्नु परेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पु¥याएका थियौँ । फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो’ उनले भने । जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ । सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ । फड्के पुल बनेपछि यात्रुलाई सहज मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही सहज भएको छ । तत्कालका लागि यात्रु आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारबाट सञ्चालनमा आएको हो । गत आसर २ गते बाढीपहिरोले मोटरेबल पुल बगाएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालले टुटेको छ । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएसँगै हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रियतामा फड्के पुल बनेको हो । मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो । बाँसका साथै बिजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा सङ्घ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ । फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् । हेवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् । यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलिब्रिज निर्माण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरिदिने विश्वास गरिएको छ । बेलिब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ । रासस

विकासे मन्त्रालयकै पुँजीगत खर्च निराशाजनक, धेरैजसाे मन्त्रालयले आधा बजेट पनि खर्चिन सकेनन्

काठमाडौं । विकासे मन्त्रालयकारूपमा रहेका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले चालु आर्थिक वर्षमा पुँजीगत खर्च गर्नै सकेनन् । चालु आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी रहँदा विकासे मन्त्रालयले नै पुँजीगत खर्चकाे हिसाब टिठ लाग्दाे देखिएकाे छ । पुँजीगत खर्च बढी गर्ने विकासे मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातले सोमबारसम्म ५३ प्रतिशत मात्रै खर्च गरेको छ । अन्य मन्त्रालयभन्दा बढी खर्च गर्ने अपेक्षा राखिएको मन्त्रालयकै खर्च कमजाेर देखिएको हो । भौतिक मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले असार मसान्तसम्म ६० प्रतिशतसम्म खर्च हुनसक्ने अनुमान गरिएको बताउँछन् । ‘चालू आर्थिक वर्षमा ६० प्रतिशत हाराहारीमा खर्च हुनसक्ने हाम्रो अनुमान हो । ६ महिनाअघि अर्थमा रकमान्तरका लागि अनुमति मागिए पनि अहिलेसम्म अनुमति नहुँदा पुँजीगत खर्च कम देखिएको हो’, उनले भने । चालू आर्थिक वर्षकाे बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त विनियोजनमध्ये करीब ७६ अर्ब रुपैयाँ मात्रै खर्च भएको अधिकारीले बताए । राष्ट्रिय गौरवका आयोजना तथा फास्ट ट्याकको काम न्यून हुँदा पुँजीगत खर्च बढ्न नसकेको अधिकारीले बताए । ‘चालू आर्थिक वर्षको बजेटमा फाष्ट ट्याकका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो, काम नै हुन नसकेपछि उक्त रकममध्ये १३ अर्ब रुपैयाँ रकमान्तर भयो, अहिलेसम्म १२ अर्ब हाराहारीमा मात्रै खर्च भएको छ’, उनले भने । यस्तै, पूर्व–पश्चिम राजमार्ग, मुग्लिङ-पोखरा तथा मुग्लिङ–काठमाडौं लगायतका राजमार्ग विस्तारको काम सुस्त हुँदा त्यसको असर समेत बजेट खर्चमा देखिएको मन्त्रालयले जनाएको छ । सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षसम्म ५० प्रतिशत हाराहारीमा पुँजीगत खर्च हुने अनुमान गरेको छ । अहिले ४० प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । ‘अहिले पुँजीगत खर्च हुनै सकेन, निर्माण सम्पन्न भएर बिल बुझाएको रकम आउन धेरै ढिलाई भयो । सरकारले नै भुक्तानी गर्न ढिलाई गरेपछि त्यसको मोबिलाइजेसन नै भएन’, वाग्लेले भने । ५५ अर्ब ८७ करोड २५ लाख रुपैयाँ बराबर पुँजीगत शीर्षकमा रकम विनियोजन भएकोमा २२ अर्ब हाराहारीमा मात्रै खर्च भएको उनले बताए । उनले केन्द्रबाट स्थानीय तह तथा प्रदेशमा गएका केही योजनाहरु संघमा फिर्ता आउँदा  पनि पुँजीगत खर्चमा कमी देखिएको बताए । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १०.०९, अर्थ मन्त्रालयको १२.४७, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १३.८२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यस्तै, परराष्ट्र, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा शिक्षा मन्त्रालयको पुँजीगत खर्च समेत ४० प्रतिशतको हाराहारीमा रहेको छ ।

दुई हप्तामै जडान भयो म्याग्दीको भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब ३५ लाख रुपैयाँको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए।  सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । ‘भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो’, उनले भने, ‘बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो ।’ असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए। ‘कल्भर्ट बगाएपछि भुरुङ्गखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो’, उनले भने, ‘म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ ।’ लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलीब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो ।  पोखराबाट बेलीब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्गखोलामा राखिएको हो । बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलीब्रिज जडान गरेको थियो । गत फागुनमा दुई करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलीब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । रासस