राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

काठमाडौं । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ । उनले भने, ‘हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’ पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् । ती आयोजनामध्ये यस करिडोकै सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी ‘ख’ आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक रुपमा बिजुली उत्पादन गरेको छ । आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार विसं २०७१ मा विद्युत् खरिद सम्झौता –पिपिए) गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो । विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ । सुरुआतमा आठ अर्ब ८० करोड रुपैयाँ लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोड रुपैयाँसम्म खर्च भएको बताइएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । कूल ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धनको लगानी रहेको छ । आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो । आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ८३ करोड लगानी भएको छ । त्यस्तै, दोर्दी–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो । तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो । आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा रु दुई अर्ब भन्दाबढी लगानी भएको छ । त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ । यी आयोजना बाहेक जिल्लाकै ठूलो तथा पहिलो आयोजना बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी आयोजना, मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको ५० मेवागाट क्षेमताको माथिल्लो मस्र्याङ्र्दी ए’ जलविद्यूत आयोजना लगायतका आयोजनाबाट समेत विद्युत् उत्पादन हुँदै आएको छ । मध्यमस्र्याङ्दी आयोजना सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माणकार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । कूल २७ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सन् २०१३ जनवरीबाट निर्माण थालनी गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्दै आएको छ । करिब १६ अर्ब रुपैयाँमा निर्माणकार्य सम्पन्न गर्दै विद्युत् उत्पादन थालेको यस आयोजना चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाल चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको थियो । रासस

कृषि क्षेत्रको विकास लागि किसानलाई अनुदानमा कृषि उपकरण

बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ’, उनले भने । आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो । खेती योग्य जमिनका आधारमा मल वितरण प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ । ‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौँ’, कृषि बीउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए । बाँकेमा धान खेतीका लागि छ हजार मेट्रिक टन मल माग भएको थियो । अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलले बताए । मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो । एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र एक हजार दुई सय बोरा युरिया वितरण गरिएको छ । बाँकेमा तीन हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ । पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ । कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए । रासस

‘गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ’

खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो । सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिकाका अध्यक्ष राईले बताए । ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि ड्रेन (नाली) भत्काएको उनले बताए । ‘गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ’, अध्यक्ष राईले भने, ‘ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।’ सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको गुनासो छ । विसं २०७९ माघ ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २ गते र ४३ लाख ९९ हजार नौ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्तगतिमा अगाडि बढाएको स्थानीयको भनाइ छ । तोकिएको समयमा सडक सम्पन्न नभएपछि जेठ मसान्तसम्मका लागि पहिलोपटक म्याद थप गरिएको इन्जिनियर मुकेशकुमार यादवले बताए। उनका अनुसार थप गरिएको समयसिमा पनि सकिएको छ । ‘निर्माणाधीन सडकको अन्य काम मापदण्ड अनुसार नै भएको पाइएको छ । नाली निर्माणमा प्रयोग भएको बालुवा खसुरो हुनुपर्नेमा कोशीको मसिनो बालुवा प्रयोग गरेको पाइएको हो’, प्रमुख राईले भने । सिमेन्ट र बालुवाको मात्रा नमिलाई काम गरेकाले गुणस्तरहीन भएको इन्जिनियर यादवको भनाइ थियो । उनका अनुसार हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । रासस