मर्स्याङ्दी जलविद्युतमा ५५ मेगावाट विद्युत् उत्पादन
काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । ६९ मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको हो । पछिल्लो समय वर्षा हुन थालेपछि उत्पादन बढे पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए । ‘पूर्ण क्षमताको विद्युत् उत्पादन हुन अझै १४ मेगावाट विद्युत् पुगेको छैन, लामो खडेरी परेका कारण नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको र कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हो,’ उनले भने । यो समयमा प्रशस्त पानी पर्ने समय भए पनि लामो समयसम्मको खडेरीका कारण नदीमा पानीको बहाव बढ्न नसक्दा सोचेअनुरुपको विद्युत् उत्पादन बढ्न नसकेको उनले जानकारी दिए । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरी लैजाने र साँझ बिहान भने पूर्ण उत्पादन बढाउन लागिएको उनले बताए । साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजेको समयमा बढी विद्युत् खपत हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूर्ण क्षमतामै उत्पादन गर्ने गरिएको छ । विद्युत्को माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी र झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
१६४ मेगावाटको बिजुली आपूर्ति अवरुद्ध, साढे आठ अर्बको प्रारम्भिक क्षति
काठमाडौं । पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)ले बाढीपहिरोका कारण कूल चार सय ६३ मेगावाट क्षमताका ३० आयोजनामा आठ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको जानकारी दिएको छ । हाल प्राधिकरणको प्रणालीमा विभिन्न १० आयोजनाको बिजुली उपलब्ध हुनसकेको छैन । त्यसबाट प्राधिकरणलाई बिजुली व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । प्राधिकरणका अनुसार काबेली करिडोरका काबेली ‘बी’ एक २५ मेगावाट, काबेली ‘बी’ एक क्यासकेड नौ दशमलव ९४ मेगावाट, इवा खोला नौ दशमलव नौ मेगावाट, हेवा खोला १४ दशमलव नौ मेगावाट र तल्लो हेवा २२ मेगावाट बराबरको बिजुली प्रणालीमा आउन सकेको छैन । ती आयोजनाको कूल क्षमता ८१ दशमलव ७४ मेगावाट छ । त्यस्तै, एउटा युनिटमा समस्या आएका कारण सात दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला आयोजनाबाट तीन दशमलव ७५ मेगावाट मात्रै बिजुली प्रणालीमा जोडिएको छ । ‘सिङ्क्रोनाइजिङ ब्रेकर’मा समस्या आएका कारण सोलु दूधकोशी जलविद्युत् आयोजनाले पनि पूर्णक्षमतामा बिजुली उत्पादन गर्न सकेको छैन । सो आयोजनाको कूल क्षमता ८६ मेगावाट भए पनि हाल २८ दशमलव छ मेगावाट मात्रै प्रणालीमा उपलब्ध रहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । दोर्दी करिडोरको सुपर दोर्दीले पनि कूल क्षमताको पचास प्रतिशत मात्रै बिजुली उत्पादन गरेको छ । सो आयोजनाको कूल क्षमता ५४ मेगावाट भए पनि हाल मात्रै २७ मेगावाट मात्रै बिजुली उत्पादन गरिरहेको छ । दोर्दी आयोजनाले १८ मेगावाट मात्रै बिजुली प्रणाली पठाइरहेको छ । सो आयोजनाको क्षमता २७ मेगावाट हो । पाँच मेगावाट क्षमताको घलेम्दीको ‘पेनस्टक पाइप’मा समस्या आएकाले हाल प्रणाली बाहिर छ । प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले पूर्वी नेपालका परियोजना बन्द हुँदा त्यसको व्यवस्थापनका लागि माथिल्लो तामाकोशी र सोलु करिडोरका अन्य आयोजनाको बिजुली पूर्वी नेपालतर्फ पठाइएको जानकारी दिए । बाढीपहिरोका कारण आयोजना पूर्णरुपमा बन्द हुँदा त्यसको व्यवस्थापनका लागि प्राधिकरणलाई केही समस्या भए पनि वर्षाका कारण अन्य आयोजनामा उलेख्य मात्रामा बिजुली उत्पादन भएकाले समस्या नभएको उनको दाबी छ । विद्युत् खरिद सम्झौताअनुसार नै केही आयोजनालाई कम भारमा आयोजना चलाउन भनिएको प्रवक्ता भट्टराईको भनाइ छ । “निजी उद्यमीले भने जस्तो होइन, केही आयोजनालाई विद्युत् खरिद सम्झौता अनुसार नै भनिएको हो”, प्रवक्ता भट्टराईले भने, “आवश्यक पर्दा पूर्ण क्षमतामा नै चलाउन भनिएको छ । यो बारेमा पनि उहाँहरुले भनिदिनुपर्छ ।” इपानका अध्यक्ष गणेश कार्कीले प्राधिकरणका कारण ३० जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बराबरको विद्युत् खेर गएको आरोप लगाए । प्रवर्द्धनहरूले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ । हाल देशभित्रको कूल माग एक हजार आठ सय ८१ मेगावाट छ । यस्तै वर्षालगायतका कारणले चार सय मेगावाट घण्टा ऊर्जा भने उपलब्ध हुनसकेको छैन । हाल निजी उद्यमीका आयोजनाबाट २२ हजार सात सय ५० मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध छ । रासस
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री
धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।’ धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए । उनले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे । ‘अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हुने चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’ उनले भने। प्रधानमन्त्री प्रचण्डले १८औँ शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि आफ्नो ध्यान राम्रो गर्दै जानेतर्फ रहेको स्पष्ट पारे। भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अनुसन्धान र खोजलाई केन्द्रित गर्ने गरी नयाँ विश्वविद्यालय स्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरे । प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि यो संरचनाले महत्वपूर्ण योगदान गर्ने बताए । धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले सामुदायिक क्याम्पसका लागि सरकारको अनुदान कम भएकाले सञ्चालनका लागि समस्या भएको बताए । सो भवन भारत सरकारको अनुदान सहयोगमा निर्माणमा भएको हो ।