झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै, दैनिक १ हजार पर्यटक घुम्न आउने

  ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ । पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ । कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो । तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पु¥याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बूढापाकाको भीड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठूलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् । हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यतिबेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो । पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चण्डिगढबाट घुम्न आएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताए । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आएका उनले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताए । ‘मुक्तिनाथ तीन पटकसम्म आएँ, मुक्तिनाथ जाने बेला गाडीबाट आकाशमाथि झोलुङ्गे पुल देखेको थिएँ, यहाँ आउन पहिलेदेखि नै मन लागेको थियो, विभिन्न कारणले आउन पाइएको थिएन, अहिले परिवारसहित आएको बेला पुल तरियो, कालिका मन्दिरको दर्शन पनि ग¥यौँ’, चौधरीले भने, ‘अहिले पनि हतार भयो, अर्को समय आउँदा अरु धेरै ठाउँ घुमेर जाने छौँ, यो ठाउँ साँच्चिकै ‘एमेजिङ’ रहेछ, धेरै खुसी लाग्यो ।’ कपिलवस्तु चन्द्रौटाका नविन बेलवासेले यहाँको लामो झोलुङ्गे पुलसँगै पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका सामाजिक सञ्जालमा देखेर नै घुम्न आएको बताए । यहाँका स्थल भिडियो युट्यु र फेसबुक पेजमा धेरै भाइरल भएको भन्दै त्यसले धेरैलाई आकर्षित गरेको उनको भनाइ थियो । आफूहरु सात जनाको समूह बनाएर यहाँ आएको र धार्मिक तथा पर्यटकीय ठाउँको भ्रमण गरेर फर्किने बेलवासले बताए । उनले भने, ‘यसभन्दा अगाडि बञ्जीजम्पमा आएको थिए, अहिले यहाँसम्म आएका छौँ, गर्मी बिदाको मेसो मिलाएर आएको बेला ढोरपाटनसम्म पुग्ने योजना छ, यो पुल तर्ने ठूलो रहर थियो, तरियो, बीचमा पुग्दा डर पनि लाग्दो रैछ रमाइलो पनि भयो, यति लामो पुल अहिलेसम्म देखेको थिएन, हाम्रोतिर त छोटोछोटो मात्रै पुल बनेका छन् ।’ पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताए । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ । ‘अहिले होटल व्यवासय राम्रो भईरहेको छ, होटलमा आउने पाहुनाको संङ्ख्या पनि बढीराखेको छ, हामीहरुले कस्तो सेवा दिएका छौँ, उनीहरुले मूल्याङ्कन गर्ने विषय हो, अहिले पर्यटक बढ्नुको मुख्य कारण भनेकै लामो झोलुङ्गे पुल हो’, उनले भने, ‘पुलको व्यापकरुपमा प्रचार भएकै कारण पर्यटक बढेका हुन्, अहिले अन्य पर्यटकीय ठाउँको पनि विकास भयो, त्यसले गर्दा पनि होला दिनप्रति दिन बागलुङमा आउनेको सङ्ख्या बढिरहेको पाएका छौँ ।’ मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ । ‘सिङ्गल स्पान’ मा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब नौ करोड २५ लाखमा सम्पन्न भएको थियो । पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । रासस

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’ ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्’ मन्त्री डा. महतले भने, ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।’ देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेका छन् । आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’ सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनुपर्छ । यसमा सरकारले भरपूर सहयोग गर्छ । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा। महतले बताए ।

निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह गरेको छ । महासङ्घले बिहीबार माइतीघरबाट संसद् भवनसम्म पदयात्रा गरी राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको बताए । उनले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको पटक–पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको उल्लेख गरे । उनले सरकारले निर्माण व्यवसायीलाई देखाएर निर्माण व्यवसायीले समयमा काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको बताए । निर्माण व्यवसायीलाई धरासायी बनाउने काम नगर्न सरकारलाई उनले आग्रहसमेत गरे । व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने भन्दै ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।