कैलालीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

टीकापुर । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए । ‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’ बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्’, स्थानीय समिरा चौधरीले भने, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’ जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताए । लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए । ‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।’ रासस

पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

डुम्रे । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ । सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का तारा पन्थले बताए । उनका अनुसार यस सडक छेउमा घर भएकाले केही कामका लागि निस्कँदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ । ‘राजमार्गकै बाटो भएर बारीसम्म पुग्न पनि सकस छ, दैनिक रुपमा यस मार्ग हुँदै अध्यापनका लागि विद्यालयसम्म पुग्न सास्ती भएको छ, घाम लागे धुलो, पानी परे हिलोले यात्रा गर्न कठिन छ’, पन्थले भने । ग१ख ७२५७ नं बसका चालक विशाल लामाले पोखरा–नारायणगढसम्म सडक विस्तारको सास्ती भोग्दै दैनिक यात्रु बोकेर यात्रा गरिरहेको बताए । उनले भने, ‘असाध्यै गाह्रोका साथ यात्रा गर्नुपर्छ, सडक विस्तारको जिम्मा लिएको कम्पनीले सामग्री जथाभावी राखिदिँदा समस्या भएको छ ।’ पहिले मुग्लिनमा पहिरा खस्छ भन्ने चिन्ता हुने गरेको प्रसङ्ग सुनाउँदै उनले अहिले पृथ्वी राजमार्गकै तनहुँ खण्डको अवस्था त्यस्तै रहेको  बताए । केही मात्रामा निर्माण कम्पनीले व्यवस्थापनका काम गरिदिए यात्रा सहज हुने लामाले बताए। ग२प ९९० नं बसका चालक आशिष श्रेष्ठले दैनिक रुपमा तीन पटकसम्म यात्रु बोक्ने गरेकामा अहिले एक पटक यात्रा गर्न पनि सकस भएको बताए । उनले भने, ‘विस्तारका क्रममा भएका ठूला खाल्डाखुल्डीको व्यवस्थापन गरिदिए यात्रा गर्न सहज हुने थियो, ठूला खाल्डाखुल्डीले गर्दा बसको कतिबेला पट्टा भाँचिन्छ र यात्रा बीचैमा रोकिन्छ भन्दै यात्रा गर्नुपर्ने अवस्था छ, निर्माण कम्पनीले त्यसतर्फ ध्यान दिए पुग्थ्यो ।’ साना सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधन चलाउन बढी समस्या भएको उनको भनाइ छ । निर्माण पक्षले यस सडकको यात्रा सहजताका लागि समयमै काम गरिदिए यात्रुले भोग्नु परेका समस्या समाधान हुने थियो । कतिपय स्थानमा ठूला सवारीसाधन सडक पार गर्न सक्छन् भने साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नै छैन । खाल्डो पार गर्ने क्रममा दुर्घटना हुने गरेको छ । बर्सातको समय भएकाले यस सडकमार्फत यात्रा गर्दा अधिकांश स्थानमा पहिरा खस्ने गरेको छ । लामो समयसम्म आधा बाटोमै रोकिनुपर्ने अवस्था छ । हाल पहिराका कारण केही स्थानमा एकतर्फी मात्रै सडक सञ्चालनमा छ । पूर्वी खण्डको २०७७ माघ १७ गते सम्झौता भएको थियो । उक्त खण्डको २०७८ वैशाख २ गतदेखि निर्माण सुरु भएको हो ।  रासस

मुग्लिन-पोखरा सडक : धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती

गण्डकी । मुग्लिन-पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । संघीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने उक्त सडक विस्तार र स्तरोन्नतिको काम एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन-पोखरा सडक सुधार आयोजनाअन्तर्गत भइरहेको छ । सुस्त गतिमा काम अघि बढ्दा सडक आसपासका व्यवसायी तथा सर्वसाधारण दिक्क छन् । पोखरा आउजाउ गर्ने यात्रुपनि सडकको धुलो र हिलोले हैरान छन् । सडकमा पानी पर्दा हिलो तथा अरु बेला धुलो नै धुलो हुन्छ । ठाउँ ठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । पोखरा–काठमाडौंको पाँच घण्टाको यात्रा १०-१२ घण्टासम्म लम्बिने गरेको छ ।  सडक स्तरोन्नति सुस्त गतिमा हुँदा पोखराको पर्यटन व्यवसाय प्रभावित बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठ बताउँछन् । विगतमा कोभिड–१९ लगायत कारणले थलिएको पोखराको पर्यटन व्यवसाय पोखरा–मुग्लिन सडकको अवस्थाले झन थला परेको उनले बताए । ‘सडकको काम समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ’, उनले भने– ‘चाँडो काम सम्पन्न गर्ने व्यवस्था मिलाएर आवतजावत सहज बनाउनुपर्छ ।’ थलिएको पर्यटन विस्तारै अघि बढे पनि मुग्लिन–पोखरा सडक खण्डका कारण समस्या भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । सडक स्तरोन्नति र विस्तार आवतजावतलाई असर नगर्ने ढंगले गर्नुपर्ने  उनको भनाइ छ । पोखरा–मुग्लिन सडक खण्डलाई आँबुखैरेनी र जामुने तथा जामुने–पोखरा गरी दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । आँबुखैरेनी–जामुने खण्डमा हालसम्म ३१ प्रतिशत र जामुने–पोखरा खण्डमा आठ प्रतिशतमात्र काम भएको छ । विदेशी तथा स्वदेशी पर्यटक घण्टौँ सडकमा बस्न बाध्य छन् । सडककै कारण बिरामी र अशक्त यात्रुलाई समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । सम्झौता अनुसार उक्त सडक खण्डको स्तरोन्नति अबको आठ महिनामा सम्पन्न गर्नुपर्ने छ । दुई वर्षमा आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ३१ प्रतिशतमात्रै काम भएको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा आठ प्रतिशत काम भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी छ ।  मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा अटाइएकामा अब मुख्य बजारमा काम थालिने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । यस खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले बताए । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गर्न थालिएको छ । झण्डै ४२ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यसको म्याद २०८१ वैशाखसम्म रहेको प्रमुख सुवेदीले बताए । विसं २०२६ मा रेखांकन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनको बनाउन थालिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाखमा तथा पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा गरिएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको हो ।  यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । काम ढिलाइले अर्थतन्त्र मारमा निर्माणधीन सडक खण्डको ढिलाइले समग्र अर्थतन्त्र मारमा पारेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । काम सन्तोषजनक नदेखिएको उल्लेख गर्दै उनले यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । मुग्लिन पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल सङ्घ बन्दीपुरका सभापति संगीता प्रधानले बताउँछन्। उनले भने, ‘चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किनुहुन्छ । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेको छ । यहाँका व्यवसायी मारमा परेका छन् ।’ धुलाम्य र हिलाम्य बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानले पोखरा आएका पर्यटक सडकमार्ग भन्दा हवाईमार्गबाट काठमाडौँ जाने गरेका बताए। उनले भने, ‘सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौँ ।’ तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष बैकुण्ठनाथ मिश्र सडक धुलाम्य र जलाम्य हुँदा ज्यानै जान सक्ने खतरा रहेको बताउँछन् । उनले भने, ‘काम सुस्त छ, प्रदूषणले गर्दा ज्यानै जान सक्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।’ मिश्रले राजमार्गकै कारण व्यापार व्यवसाय चौपट भएको गुनासो गरे ।  तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले एउटै सडकमा तीनथरी मापदण्डले सबैमा अन्योल रहेको बताए । उनले भने, ‘सडक फराकिलो हुने कुरामा सबै खुसी छौँ, काममा ढिलाइ भइरहेको छ । तर मापदण्ड एउटै छैन । यसले अन्योलता बढायो ।’ तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले सडकको काम तीव्र गतिमा गर्नका लागि आयोजनालाई ध्यानाकर्षण गराइएको बताए ।  मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले काम सन्तोषजनकरुपमा भइरहेको बताए । उनका अनुसार हालसम्म ३२.५ प्रतिशत भौतिक प्रगति भएको छ । भदौदेखि कालोपत्रको काम सुरु गर्न निर्माण कम्पनीले सबै व्यवस्थापन गरिसकेको उनको भनाइ छ । उक्त खण्डमा १४ साना पुल सम्पन्न भइसकेका छन् । तीन वटा निर्माणको चरणमा छन् । बजार क्षेत्रमा छ तथा अन्यत्र चार लेनको सडक बनाउने योजना छ ।  जिल्लाका विभिन्न पालिका प्रमुखले आयोजनाको काममा सहजीकरण गर्दैआएको बताएका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कामको गति सुस्त हुनुमा ठेकेदारको कमजोरी रहेको बताए।  शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडकको कामको गति बढाउनुपर्ने बताए। म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काममा ढिलाइ गर्नेलाई कारबाही र छिटो गर्नेलाई पुरस्कारको व्यवस्था गरिनुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सडक निर्माणको ढिलाइले प्रदेशको अर्थतन्त्रमा असर पुगेको र त्यसबाट बन्दीपुरको पर्यटन क्षेत्र पनि प्रभावित बन्न पुगको बताए । रासस