पश्चिम म्याग्दीमा बन्दै १३ जलविद्युत् आयोजना
काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् । प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्रिखोलाको पहरामा अड्किएको सडक निर्माणको काम धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्रि खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्रालि काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युत गृह निर्माणको काम थालिएको बताए । सिन्कोस र म्याग्दीखोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दीखोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट ३ आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालि र ऊर्जा डेभलपर्सबीच गत वर्ष लगानी सम्झौता भएको थियो । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको २३.७० मेगावाट क्षमताको म्याग्दी खोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४.७० मेगावाट क्षमताको मुदी खोला निर्माणको अनुमति पाएको छ । सुशमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबानखोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि–४ मा ३.४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि–४ मुदीमा १२.७३ मेगावाट क्षमताको अपर मुदी र सुशमित इनर्जीले धवलागिरि–४ मुदीमा ९.५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । रासस
म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् । विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका हुन् । प्राधिकरणले मालिका गाउँपालिका-७ मा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार उक्त आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । ‘शिवरात्री खोलाको पहरामा अड्किएको सडक धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेपछि मार्ग खोलिएको हो’, अग्रवालले भो, ‘हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि-४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।’ आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम थालिएको बताए । उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन् । ५३ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाटको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि-४ मा १४.७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएका छन् । त्यस्तै, छ दशमलव पाँच मेगावाटको दरखोला, धवलागिरि-४ मा तीन दशमलव ४५ मेगावाटको सिम्कोश, धवलागिरि-४ मुदीमा १२ दशमलव ७३ मेगावाटको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला ‘बि’ र चार दशमलव छ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति लिएका छन् । जिल्लामा जलविद्युत् आयोजना भित्रिएसँगै सडक सञ्जाल विस्तारका साथै भौतिक पूर्वाधार निर्माणले गति लिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । आयोजनाले बनाएका पूर्वाधारबाट स्थानीयले रोजगारी पाउने, लगानी गर्ने वातावरण बन्ने, सुविधा उपभोग गर्न पाउनुका साथै दीर्घकालीन हिसाबले पालिकालाई विद्युत्बाट आम्दानीसमेत हुने उनको भनाइ थियो । रासस
८० प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो
भरतपुर । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा सरकारले योजनामा नै राखेको छैन । उनले भने, ‘एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ, तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छैन ।’ योजनामा नपरेपछि सडक विभागमा आफूले पत्राचार गरेको उनले बताए । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको हो । यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ । गौरी पार्वती निर्माण सेवासँग १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । अहिले यो सडक सम्पन्न हुन केहीमात्रै बाँकी रहेको उनले बताए । उनका अनुसार रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ । मङ्सिर महिनाभित्र पूर्णरूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोडमा सम्झौता भएको थियो । अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उनले बताए । उनले भने, ‘ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन ।’ सम्झौताअनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसकिएको उनले बताए । यो सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको उनको भनाइ छ । रासस