काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला नजिकै रहेको तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ एक सूचना जारी गर्दै पहिरोका कारण राजमार्ग दुवैतर्फी अवरुद्ध भएको जनाएको हो । पहिरो खस्ने क्रम निरन्तर जारी रहेकाले अर्को सूचना प्रकाशत नभएसम्मका लागि उक्त सडक खण्ड भएर गुड्ने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ ।
पहिरोका कारण सडक क्षेत्रमा उच्च जोखिम रहेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई मध्यनजर गर्दै यातायात बन्द गरिएको प्रशासनले स्पष्ट पारेको छ ।
काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु, सवारी चालक तथा सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र जानकारीका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।