बेनी–जोमसोम सडक सधैँ सास्ती, ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने

गलेश्वर । ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । छयत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका कृष्ण शर्माले जानकारी दिए । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिराले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध हुने गरेको उनले बताए । बैसरीमा दैनिकजसो खस्ने पहिराले उक्त सडकको यातायात सेवा बन्द हुने गरेको छ । सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले  समयमै गन्तव्यमा पुग्न पाएका छैनन् । सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो । वैकल्पिकरुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन् । वैकल्पिक सडक पनि जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा सवारी साधन सञ्चालन नहुँदा आवतजावत गर्न र कृषि उपज निकासीमा असर परेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिराले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्यूनीकरणको उपाय अपनाउन र  अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीनरूपले समस्या समाधान गर्न माथिल्लो निकायमा पहल गरिने आयोजना प्रमुख प्रजापतिले जानकारी दिए । बाढीपहिराका कारण सो सडकखण्डको तीन ठाउँमा लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी सुमन श्रेष्ठले बताए । बैसरीमा मात्र होइन हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न हुने गरेको सो सडक खण्डमा सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । उक्त सडकखण्डअन्र्तगत रघुगङ्गा गाउँपालिका–३ को बैसरी, अन्नपूर्ण गाउँपालिका–३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था दयनीय र डरलाग्दो रहेको दानमा होटल व्यवसाय गर्दै आएका व्यवसायी सुवर्ण खत्रीले बताए । यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नाका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने गाडी चालक टेकबहादुर विकले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेको र ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले  यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरोले  बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६४ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो । उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत पाँच वर्षदेखि स्तरोन्नति र तीन वर्षदेखि कालोपत्रको काम सुरु भएको छ  तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिको भनाइ थियो । भीरकोट र बाँदरजुङ्गे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो  । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताए । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि योगदान पुग्ने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्वीर) ले बताए । ‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’  हुने गरेको छ’,  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।’ रासस

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

काठमाडौं । विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ । असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ । गत असार अन्तिम साता कालोपत्र गरिएको उक्त सडकमा अहिले नै समस्या देखिएको स्थानीयवासी टेकबहादुर तामाङले गुनासो गरे । आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ मा ठेक्का भएको सात किमी सडक असार अन्तिम साता मुख्य भागमा कालोपत्र सकिएको थियो । सडकको दायाँबायाँ भागमा भने अझै काम बाँकी नै छ । कति ठाउँमा ढल बनाउनका लागि ठूला खाल्डा यत्तिकै छोडिएको छ । जहाँ पैदलयात्रु र सवारीसाधन पर्न सक्ने जोखिम छ । यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । ठेक्का भएको केही वर्षसम्म सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुनसकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमतिको वषौँ बित्दासमेत अझै काम पूरा हुनसकेको छैन । यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् । धेरैजसो सडकको काम सकिएको छ । वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्न थालेको छ । केही ठाउँमा अझै ढलको काम भइरहेको छ । नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको चार वर्षसम्म पनि सडकको काम सकिएको छैन । समय बढाएर आर्थिक वर्ष २०७६/७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन । त्यसपछि पनि पटकपटक समय थप गर्दा पनि काम नसकिएको हो । आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जीनीयर महानन्द जोशीले भने गत असारमा काम सकिएको दाबी गरे । मर्मतको काम बाँकी रहेको उनले सुनाए । ‘नयाँपाटी पुलमाथिको भागमा गत असारमा पानी परेका दिनमा कालोपत्र गरिएकाले भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो, यहाँ पनि छिटो मर्मत गर्न लगाउँछौँ’, उनले भने । ५८ करोड लागतमा भएको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेको नगरपालिकाले जनाएको छ । सङ्घीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् ।  स्थानीयवासी र पैदलयात्रीले भने कुन सरकारको आयोजना हो भन्ने नबुझी स्थानीय सरकारलाई गाली गर्ने गरेको नगरपालिका–४ का अध्यक्ष जयराम महतले बताए । विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तार लगायत संरचना अझै हटेको छैन । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले काममा ढिलासुस्ती गरेको देखिएको स्थानीयवासी हरिबहादुर श्रेष्ठको भनाइ छ । गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्कियो । केही महिनापछि त्यो भत्किएको स्थानमा टालिए पनि काम राम्रो भएको थिएन । वर्षा लागेसँगै यहाँ पनि सडक भत्कन थालेको छ । कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ । कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएको छैन । पैदलमार्ग नहुँदा यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको छ । यसतर्फ सरोकार भएका निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीय शिक्षक अनन्त अर्यालले बताए । सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल विस्तार हुन नसक्दा सवारीसाधन जाममा पर्ने गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि काम सुरु भएको आठ वर्ष बितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए । सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ । बाँकी रहेका ठाउँको काम नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम र नगरपालिकाले विभिन्न प्रयोजनमा खनेर अलपत्र बनाएको आयोजनाले जनाएको छ । भत्काएर अलपत्र बनाउने निकायलाई तत्काल बनाउन पत्राचार गरिएको सूचना अधिकारी जोशीले बताए । रासस

अव्यवस्थित विकासले बर्खामा सकस, सडक सञ्चालन नहुँदा जनजीवन कष्टकर

ढोरपाटन । बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् । कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल र बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएको छ । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ । निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटरबाटो पुग्यो । मोटरबाटोले स्थानीयवासीलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँ नै पहिराको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जन घर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्नासाथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना सडक निर्माण गर्दा गाउँ नै पहिराको जोखिममा परेको स्थानीयवासीको गुनासो थियो । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ । पानी पर्नेबित्तिकै माथिदेखि भल आएर एकै छिनमा सडक पुरीदिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले बताए । बर्खा लागेदेखि थापागाउँ, बडाचौरलगायत गाउँका सडक बन्द रहेको उनको भनाइ थियो । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नति गर्ने गरी योजना बनाइएको उनले बताए । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरी निर्माण गरिने उनले उल्लेख गरे । ’स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पु¥याउने योजना बनाएको थियो, सोहीअनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन,’ अध्यक्ष पौडेलले भने, ’धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ ।’ जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्द छन् । बडिगाड, ढोरपाटन, गलकोटलगायत ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीयवासी प्रेमबहादुर पुनले बताए । पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक सञ्चालन हुन नसक्ने उनको भनाइ थियो । ’काम परेर बजार जान पर्यो भने दुई÷तीन ठाउँ गाडी परिवर्तन गर्नुपर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो,’ स्थानीयवासी पुनले भने, ’बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।’ बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक खन्ने होडबाजीका कारण पहिराको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्या केही समाधान हुने स्थानीयवासी तिलबहादु घर्तीले बताए । उनले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको छ भने । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको स्थानीयवासी घर्तीले गुनासो गरे । उनले भने, ’बाटो अलि फराकिलो बनाउनुपर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरू विकास कम भएको पाइन्छ ।’ रासस