पाँच वर्षमा ५१ प्रतिशत मात्रै प्रगति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अलपत्र
पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।
अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए ९एच३एन२० प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ । केन्द्रले विशेष गरी छ महिना भन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार फ्लु उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । यी औषधिहरू समयमै सुरु गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी ती व्यक्तिहरूका लागि महत्वपूर्ण छन्, जसलाई गम्भीर फ्लु–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ । रासस
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३ सय बिरामीको उपचार गर्दै बूढानीलकण्ठ अस्पताल
काठमाडौं । बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक ३ सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि ३ जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट ३ जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । ‘सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ । गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ,’ अधिकारीले भने । अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उनले बताए । त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गरे । ‘हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ । यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुंगा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ,’ लामाले भने । आम्दानी पनि बढ्यो सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको ५ महिनामै १ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । ‘सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ,’ पोखरेलले भने, ‘अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।’