हेल्दी होम २१ वर्षमा, नयाँ प्रविधि र सेवामा लगानी बढाउने
काठमाडौं । नेपालमा समग्र स्वास्थ्य, वेलनेस र एस्थेटिक सेवा प्रदान गर्दै आएको हेल्दी होमले आफ्नो स्थापना दिवसको २१औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले दुई दशकभन्दा लामो यात्रामा ग्राहकको विश्वासलाई मुख्य उपलब्धिका रूपमा लिँदै अब नयाँ नेतृत्वसँगै सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुने जनाएको छ । २०६३ सालमा मोहन भुसाल र कृष्ण भट्टराईद्वारा स्थापना गरिएको हेल्दी होमले हाल काठमाडौं र पोखरामा आफ्ना शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । संस्थाका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् । वार्षिकोत्सव कार्यक्रममा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा संस्थाका लागि उपलब्धिमात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताए । ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालभित्र र बाहिर पनि हेल्दी होमको सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले संस्थाको सुरुआती उद्देश्य उपचारमात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै अब नयाँ पुस्ताको नेतृत्वसँगै सोही मूल्य र दृष्टिकोणलाई अझ व्यापक बनाइने बताए । कार्यक्रममा हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थापकले स्थापित गरेको विश्वासलाई नयाँ प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । आगामी वर्षहरूमा नयाँ शाखा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा थप नागरिकको पहुँचमा पुर्याउने योजना रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ग्राहक सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । लक्की ड्रमार्फत नगद पुरस्कार तथा विभिन्न सेवा प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ । हेल्दी होमले आगामी चरणमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा वेलनेस र एस्थेटिक क्षेत्रमा नवीन सेवामार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी अभियान देशव्यापी रूपमा चलाइने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ । मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले संघ, प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड दिइने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्यसम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरबारे व्यापक प्रचारप्रसार गरिनेछ । मोबाइल रिङ ब्याकटोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल तथा अनलाइन काउन्सेलिङमार्फत पनि जनचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ । बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ । साथै आयुर्वेद अन्तर्गत योग, ध्यान तथा मनोसामाजिक सेवासमेत अभियानसँग जोडिनेछ । मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको मौज्दात सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवा नियमित स्वास्थ्य सेवामा एकीकृत गर्ने तथा आवश्यकताअनुसार अस्पतालहरूमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाउने जनाएको छ । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी परिचालन गर्ने, उपचारबाट बाहिरिएका (डिफल्टर) बिरामीको खोज तथा पुनःउपचारमा ल्याउने, लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी उपचारको दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ । बैठकले चालु आर्थिक वर्षका बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने तथा मानसिक स्वास्थ्यलाई संस्थागत स्वास्थ्य सेवाभन्दा समुदायमा आधारित परामर्श र सेवासँग जोडेर अघि बढाउने निष्कर्ष निकालेको छ ।
मनसुनसँगै बढ्दो स्वास्थ्य संकट, संक्रमणदेखि सर्पदंशसम्मको चुनौती
काठमाडौं । देशमा मनसुन भित्रिएसँगै खेतबारी हरियालीले ढाकिन थालेका छन् । खोलानाला भरिन थालेका छन् र किसानहरू रोपाइँमा व्यस्त छन् । तर, यही वर्षाले हरियालीसँगै अर्को अदृश्य चुनौती पनि बोकेर ल्याएको छ, त्यो हो- संक्रमणको जोखिम । वर्षायाम सुरु भएसँगै डेङ्गी, झाडापखाला, हैजा, स्क्रब टाइफस, टाइफाइडलगायत मनसुनजन्य रोगको जोखिम उल्लेख्य रूपमा बढ्ने गर्छ । घरआँगनमा जमेको पानी लामखुट्टेको प्रजननस्थल बन्छ भने दूषित खानेपानी र असुरक्षित खानपानले पानीजन्य रोग फैलाउने वातावरण तयार गर्छ । यही कारण प्रत्येक वर्ष मनसुन लागेसँगै अस्पतालमा यस्ता रोगका बिरामीको चाप बढ्ने गरेको स्वास्थ्यकर्मीहरूको अनुभव छ । चिकित्सकहरूका अनुसार वर्षायाममा सबैभन्दा बढी देखिने समस्या दूषित पानी र अस्वच्छ खानपानसँग सम्बन्धित हुन्छ । विशेषगरी पानीजन्य रोग मनसुनको सबैभन्दा ठूलो स्वास्थ्य चुनौती हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसे मनसुन सुरु भएसँगै अस्पतालमा पानीजन्य संक्रमण भएका बिरामीको संख्या बढ्न थालेको बताउँछन् । उनका अनुसार वर्षायाममा पानी पिउँदा, खाना पकाउँदा र फलफूल तथा तरकारी सफा गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । वर्षाको पानीले बगाउँदै ल्याउने फोहोर र संक्रमण विभिन्न स्थान हुँदै खानेपानीका स्रोतसम्म पुग्न सक्छ । डा. चालिसे भन्छन, ‘वर्षायाममा अघिपछिको तुलनामा धेरै वर्षा हुन्छ । पानीले आफ्नो बाटो भेटेसम्म बग्छ, बाटो नपाए विभिन्न ठाउँमा जम्छ । त्यसक्रममा पानीमा रहेका जीवाणु र अन्य संक्रमण घरआँगनदेखि खानेपानीका मुहानसम्म पुगेर पानीलाई दूषित बनाउँछ । त्यही दूषित पानी प्रयोग गर्दा पानीजन्य रोग लाग्ने जोखिम बढ्छ ।’ सामान्यतया धेरैले वर्षामा पानी उमालेर पिउनुलाई नै पर्याप्त सावधानी ठान्छन् । तर डा. चालिसे सुरक्षित रहन त्यसले मात्र नपुग्ने औंल्याउँछन् । ‘खानेपानी स्वच्छ भए पनि तरकारी, फलफूल र काँचै खाने खानेकुरा कस्तो पानीले पखालिएको छ भन्ने कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ । पानीमात्र उमालेर पिउँदैमा सबै संक्रमणबाट बच्न सकिँदैन । खाना तयार गर्ने सम्पूर्ण प्रक्रियामा सरसफाइमा ध्यान दिनुपर्छ,’ उनले भने । मनसुनको समयमा उमालेको वा शुद्धीकरण गरिएको पानीमात्र प्रयोग गर्ने, फलफूल तथा तरकारी सफा पानीले राम्ररी पखाल्ने, खुला तथा बासी खाना नखाने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने बानीले यस्ता धेरै संक्रमणबाट बच्न सकिन्छ । कीटजन्य रोगको जोखिम मनसुनमा दूषित पानी र अस्वच्छ खानपानबाट हुने संक्रमण मात्र होइन, कीटजन्य रोगको जोखिम पनि उल्लेख्य रूपमा बढ्छ । वर्षाका कारण विभिन्न स्थानमा पानी जम्दा लामखुट्टेलगायत रोग सार्ने कीटहरूको प्रजनन तीव्र हुन्छ, जसले डेङ्गी, मलेरिया र जापानिज इन्सेफलाइटिसजस्ता रोग फैलिने सम्भावना बढाउँछ । पछिल्ला केही वर्षयता यस्ता रोगको संक्रमणदर केही घट्दो क्रममा देखिए पनि जोखिम भने टरेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल पछिल्ला वर्षहरूमा विभिन्न जिल्लामा गरिएको निगरानी र सर्वेक्षणले संक्रमण केही घटेको देखाए पनि मनसुनमा सतर्कता कम गर्न नहुने अवस्था रहेको बताउँछन् । ‘हामीले विभिन्न जिल्लामा गरेको सर्वेका आधारमा कीटजन्य रोगको संक्रमण केही घटेको पाएका छौं । तर यति भन्दैमा जोखिम सकियो भन्ने होइन । वर्षायाममा रोग सार्ने लामखुट्टे बढी सक्रिय हुने भएकाले सर्वसाधारणले झन् बढी सावधानी अपनाउनुपर्छ,’ डा. दाहालले भने । उनका अनुसार घरआँगन, गमला, टायर, ड्रम, कुलर, पानी ट्याङ्की तथा अन्य भाँडामा पानी जम्न नदिनु नै डेङ्गीजस्ता रोग रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपाय हो । साथै लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोग गर्ने, पूरा बाहुला भएका कपडा लगाउने र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गर्न पनि उनी सुझाव दिन्छन् । मनसुनमा धेरैले जन्डिस बढ्ने गरेको सुन्छन्। तर चिकित्सकहरूका अनुसार जन्डिस आफैँमा रोग होइन, शरीरमा देखिने एउटा लक्षण मात्र हो । यसको पछाडि विभिन्न कारण हुन सक्छन् । वर्षायाममा विशेषगरी दूषित पानी र खानाबाट सर्ने हेपाटाइटिस ए र हेपाटाइटिस ई भाइरसका कारण कलेजोमा संक्रमण हुने जोखिम बढ्छ । यही संक्रमणका कारण आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिन सक्छन् । चिकित्सकहरूका अनुसार मनसुनमा हेपाटाइटिस ए र ईका बिरामी बढ्नुको मुख्य कारण सुरक्षित खानेपानी र सरसफाइमा कमी आउनु हो । त्यसैले उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउने, फलफूल तथा तरकारी सफा पानीले राम्ररी पखाल्ने, खुला तथा बासी खाना नखाने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने बानीले यस्ता संक्रमणबाट जोगिन सकिन्छ । मनसुनमा छालाजन्य संक्रमण मनसुनको असर पानीजन्य र कीटजन्य रोगमा मात्र सीमित हुँदैन । वर्षायाममा छालाजन्य संक्रमणका बिरामी पनि उल्लेख्य रूपमा बढ्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी खेतबारीमा रोपाइँ गर्ने, लामो समय पानी र हिलोमा काम गर्ने तथा भिजेका जुत्ता–मोजा वा कपडा लामो समय लगाइरहने व्यक्तिमा यस्ता संक्रमणको जोखिम बढी हुन्छ । गाउँघरमा वर्षायाममा खुट्टाको छाला गल्ने वा चिलाउने समस्यालाई प्रायः खुट्टा हिलाले खायो भनेर सामान्य रूपमा लिने चलन छ । तर चिकित्सकहरूका अनुसार यो सामान्य समस्या मात्र होइन, समयमै उपचार नगरे संक्रमण जटिल बन्न सक्छ । लामो समयसम्म छाला भिजिरहँदा छालाको प्राकृतिक सुरक्षा तह कमजोर बन्छ । त्यसपछि फङ्गस र ब्याक्टेरियाले सजिलै संक्रमण गर्न सक्छन् । सुरुमा खुट्टाको औंलाबीच चिलाउने, छाला सेतो भएर गल्ने, रातो हुने वा चिरा पर्नेजस्ता लक्षण देखिए पनि बेवास्ता गरे संक्रमण फैलिन सक्ने चिकित्सकहरू बताउँछन् । खुट्टामा मात्र होइन, शरीरका अन्य भागमा पनि फङ्गल संक्रमण, दाद, एलर्जी र विभिन्न प्रकारका छालाका समस्या मनसुनमा बढ्ने गर्छन् । धेरै पसिना आउने, शरीर लामो समय भिजिरहने र सरसफाइमा कमी आउँदा यस्तो जोखिम झन् बढ्छ । त्यसैले चिकित्सकहरूले वर्षायाममा सकेसम्म शरीर र खुट्टालाई सुख्खा राख्न, भिजेका कपडा र जुत्ता लामो समय नलगाउन, सफा तथा सुक्खा मोजा प्रयोग गर्न र संक्रमणका लक्षण देखिएमा घरेलु उपचारमा अल्झिनुभन्दा छालारोग विशेषज्ञ वा स्वास्थ्यकर्मीको परामर्श लिन सुझाव दिन्छन् । उनीहरूका अनुसार समयमै सावधानी अपनाउँदा अधिकांश छालाजन्य संक्रमण सजिलै रोकथाम गर्न सकिन्छ । टेकुमा सर्पदंशका बिरामी मनसुनमा संक्रमणजन्य रोग मात्र होइन, सर्पदंशका घटना पनि उल्लेख्य रूपमा बढ्ने गर्छन् । वर्षा सुरु भएसँगै सर्पहरू आफ्नो बासस्थानबाट बाहिर निस्कने, खेतबारी तथा मानव बस्ती नजिक पुग्ने भएकाले सर्पदंशको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी रोपाइँमा व्यस्त किसान, घाँस–दाउरा गर्न जंगल जाने तथा राति हिँडडुल गर्ने व्यक्तिहरू बढी जोखिममा पर्छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि मनसुन सक्रिय भएसँगै सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अहिले अस्पतालमा आउने बिरामीमध्ये सर्पदंशका बिरामीको संख्या उल्लेखनीय छ । हरेक वर्ष चैतको अन्तिम सातादेखि भदौ महिनासम्म सर्पदंशका बिरामीको संख्या उच्च रहने गर्छ । डा. चालिसे भन्छन्, ‘मनसुन सुरु भएसँगै सर्पदंशका बिरामी उल्लेख्य रूपमा बढ्न थाल्छन् । त्यसैले मनसुनजन्य स्वास्थ्य जोखिमको चर्चा गर्दा सर्पदंशलाई छुटाउन मिल्दैन ।’ तराईका जिल्लामा विशेषगरी कोब्रालगायत विषालु सर्पको टोकाइका घटना बढी देखिन्छन् भने पहाडी क्षेत्रमा विभिन्न प्रजातिका विषालु सर्पका कारण सर्पदंशका बिरामी अस्पताल पुग्ने गरेका छन् । नेपालमा सर्पदंश अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको चिकित्सकहरू बताउँछन् । हरेक वर्ष देशभर ठूलो संख्यामा मानिस सर्पदंशबाट प्रभावित हुने र धेरैले ज्यानसमेत गुमाउने गरेका छन् । ग्रामीण क्षेत्रमा समयमै उपचार नपाउनु, झारफुकमा विश्वास गर्नु तथा स्वास्थ्य संस्थामा ढिलो पुग्नुका कारण मृत्युको जोखिम अझ बढ्ने चिकित्सकहरूको भनाइ छ । वर्षायाममा खेतबारीमा काम गर्दा वा रातिको समयमा बाहिर निस्कँदा बुट वा जुत्ता लगाउने, टर्चको प्रयोग गर्ने, घर वरिपरिका झाडी सफा राख्ने र सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर फाल्नुको सट्टा तत्काल सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा पुग्नु नै ज्यान बचाउने सबैभन्दा प्रभावकारी उपाय भएको चिकित्सकहरूको सुझाव छ । मनसुनजन्य रोगको चर्चा गर्दा डेङ्गी, हैजा वा झाडापखालाजस्ता संक्रमणमा मात्र ध्यान केन्द्रित गर्नु पर्याप्त हुँदैन । जनस्वास्थ्यविद्हरूका अनुसार मनसुनले समग्र जनस्वास्थ्य प्रणालीमै बहुआयामिक प्रभाव पार्छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका घटना बढ्छन् । सडक दुर्घटनाको जोखिम पनि यही मौसममा उच्च हुने गर्छ । प्राकृतिक विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुने, खानेपानीका मुहान दूषित हुने, विस्थापित समुदायमा सरसफाइको समस्या बढ्ने र संक्रमण फैलिने सम्भावना एकैसाथ बढ्छ । मनसुनलाई केवल मौसमको परिवर्तनका रूपमा नभइ , सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा पनि हेर्नुपर्ने स्वास्थ्यविज्ञहरू बताउँछन् । संक्रमण फैलिन नदिन स्वास्थ्य क्षेत्रले आफ्नो तयारीलाई तीव्र बनाएको सरकारी स्वास्थ्यसंस्थाहरूको भनाइ छ । इपीमीडीयोलोजीले हैजाजस्ता रोगको प्रारम्भिक पहिचानका लागि ७७ वटै जिल्लामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट उपलब्ध गराइएको छ । स्थानीय तहमार्फत आवश्यकताअनुसार केही निजी स्वास्थ्य संस्थालाई समेत परीक्षण सामग्री उपलब्ध गराइएको छ । मनसुनमा सुरक्षित खानेपानी सुनिश्चित गर्न पनि नियमित अनुगमन भइरहेको छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ ले खानेपानीको गुणस्तर अनुगमन गर्ने अधिकार स्वास्थ्य क्षेत्रलाई दिएपछि देशभरका जिल्लाबाट पानीको नमुना परीक्षण भइरहेको छ । हालसम्म करिब ७ सय स्थानबाट संकलित खानेपानीको नमुना परीक्षण गर्दा १ सय ३० भन्दा बढी स्थानमा पानी दूषित रहेको पाइएको छ। ती नमुनामा मानव वा जनावरको दिसाबाट हुने प्रदूषणको संकेत मानिने इ. कोलाई जीवाणु भेटिएको इडीसीडीले जनाएको छ । दूषित पानीको स्रोत पहिचान भएपछि सम्बन्धित स्थानीय तह र खानेपानी सेवा प्रदायकलाई तत्काल जानकारी गराइने गरिएको छ । त्यसपछि पानीको स्रोत सुधार, क्लोरिनेशन तथा अन्य आवश्यक व्यवस्थापन गरिँदा खानेपानीको गुणस्तर सुधार गर्न उल्लेखनीय सहयोग पुगेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।