वस्तेलीले गरे रूपन्देहीमा रक्तदान
काठमाडौं । गुल्मी धुर्कोट वस्तु रूपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा वस्तुबाट रूपन्देहीमा बस्नेहरूको बाक्लो उपस्थितिमा रक्तदान गरिएको समाजका सचिव भानुभक्त पाण्डेले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन चिया–नास्ता तथा खाना व्यवस्थापन गर्ने स्वयंसेवकहरू, टेन्ट, कुर्सी तथा साउन्ड सिस्टमको व्यवस्थापनमा सहयोग गर्ने सबै सहयोगीहरूप्रति समाजले उच्च सम्मान र आभार व्यक्त गरेको सदस्य जीवलाल भण्डारीले बताए । समाजका कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णको भूमिकाको समाजले खुलेर प्रशंसा गरेको छ। उक्त कार्यक्रममा जम्मा ५३ जना रक्तदाताहरूले रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याएका छन् । जीवन बचाउने यस पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरूलाई समाजले विशेष सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ । रक्तदानजस्तो पुण्य कार्यले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने विश्वास समाजले व्यक्त गरेको छ ।
गौतम बुद्ध मुटु अस्पताल आर्थिक सङ्कटमा, भुक्तानी रोकिँदा उपचार सेवा बन्द गर्दै
काठमाडौं । बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक सङ्कटमा पर्दै गएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । अस्पतालले बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको १ लाख रुपैयाँसम्मको उपचार सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने जनाएको छ । ‘स्वस्थ मुटु हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं २०७० देखि सामुदायिक स्तरबाट सञ्चालनमा आएको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल चालु आर्थिक वर्षमा आइपुग्दा अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचार गरे बापत सरकारबाट १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ भुक्तानी नपाउँदा अस्पताल आर्थिक सङ्कटमा गरी अन्य उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ । चालु आर्थिक वर्षसम्ममा मुटु तथा मिर्गौलाका बिरामीको उपचारबापत नेपाल सरकारले प्रदान गर्ने रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ रहेको हालै २ करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र प्राप्त गरेपछि अस्पतालले बिरामीको उपचार गरिरहेको तर सरकारबाट थप भुक्तानीमा चासो नदिएकाले सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराए । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा १ लाख रुपैयाँ तथा मिर्गौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको अध्यक्ष आलमले बताए । सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै १ हजार ३८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा यस अस्पतालमार्फत प्रदान गरिएको छ । त्यसैगरी, मिर्गौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन २ हजार ५०० रुपैयाँ प्राप्त हुँदै आएकोमा यस वर्ष १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मिर्गौलाका बिरामीको गरी चालु वर्षमा मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको अध्यक्ष आलमले बताए । मुटुको सामान्य उपचारबाट सुरु गरिएको यस अस्पतालमा २०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएसी गरी ६ हजार ५६९ जनाले सेवा प्राप्त गरेको अस्पतालले तथ्याङ्क सार्वजनिक गरेको छ । यस्तै, विसं २०७२ देखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीले हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेको अस्पतालको तथ्याङ्क छ । मिर्गौलाका बिरामीहरूको चाप अत्यधिक बढ्दै जान थालेपछि सेवा विस्तार गर्दै अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तुको वाणगङ्गामा डायलाइसिस सेन्टर स्थापना गरी सेवा प्रदान गर्दै आएको भने केही समयमै नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । अस्पतालले सञ्चालन गरेका डायलाइसिस सेन्टरमध्ये बुटवलबाट ३११ जना, लमहीबाट ५७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गौलाका बिरामीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै सेवा लिँदै आएको अध्यक्ष आलमले बताए । रूपन्देही उद्योग सङ्घको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्याक्ट क्लबहरू, समाजसेवी लगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ४२ जिल्लाका नागरिकलाई यस अस्पतालले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । स्थापनाको १२ वर्षसम्म आइपुग्दा अस्पतालबाट मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी पाँच लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ । अस्पतालमा हाल ३३० जनाले प्रत्यक्ष रोजगारी पाएको र मासिक १ करोड ५० लाख रुपैयाँभन्दा बढी तलब सुविधामा मात्र खर्च हुने गरेको छ । गैर नाफामुखी स्वास्थ्य संस्थाका रूपमा स्थापना भएको यो अस्पतालको जग्गा प्राप्तिको ढिलाइले आफ्नै भवनसमेत नहुँदा भाडाको भवनमा सेवा सञ्चालन गर्नुपरेको थप आर्थिक व्ययभारसँगै बिरामीको चापसमेत खेप्नुपरेको अध्यक्ष आलमले बताए । मुटु र मिर्गौलाको उपचार पद्धति आफैँमा महँगो र जटिल समेत हुने भएकाले पनि सरकारको यस्ता बिरामीलाई सुविधा दिने घोषणा कार्यान्वयनमा प्रभावकारी हुनसके सहुलियत हुने अध्यक्ष आलम बताउँछन् ।
विद्यालय नर्स आफैँ समस्यामा, ५४ करोड रुपैयाँ खर्च
काठमाडौं । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा कार्यक्रममा स्वयं विद्यालय नर्सहरूले नै आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । दरबन्दी बिना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न नपाएको, एकै जना नर्सले एक हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको, विद्यालय प्रशासनबाट असहयोग हुने गरेको लगायत समस्या कार्यक्रममा व्यक्त गरिएका थिए । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित आदर्शशौल माध्यमिक विद्यालयका नर्स सरस्वती शाक्यले काम गर्ने सकारात्मक वातावरण नहुँदा किशोर किशोरीको स्वास्थ्य समस्या समाधानमा कठिनाइ रहेको बताइन् । उनले शिक्षा र स्वास्थ्यमा समन्वयको अभाव रहेको भन्दै विद्यालय प्रशासन, शिक्षक र अभिभावकलाई अभिमुखीकरण गर्नुपर्ने बताइन् । बालकुमारी माध्यमिक विद्यालय सुनाकोठीमा नर्स अनु तिमल्सिनाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको कार्यक्रममा आफू सहभागी भएर काम गर्दा विविध समस्या भोग्नुपरेको सुनाइन् । ‘काम गर्ने दौरानमा विभिन्न व्यवधान ब्यहोर्नु परेको छ । विद्यालयमा उचित कार्यस्थल, विद्यार्थीलाई प्राथमिक उपचार गर्ने व्यवस्थित कक्ष र बालमैत्री शौचालय छैन । यस्तै, हरेक ६/६ महिनामा करारको नवीकरण गर्दा समस्या भइरहेको छ,’ उनले भनिन् । बागमती गाउँपालिका-७ गिम्दीको कटुवास्थित जनक माविका नर्स धना विष्टले अभिभावकहरूलाई आफ्ना बालबालिकाबारे थप सचेत र जागरुक बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् । यस्तै, विद्यार्थीलाई दिइने खाजा खर्च हरेक ३/३ महिनामा उपलब्ध गराइँदा विद्यार्थीहरूको स्वास्थ्य र विद्यालयप्रतिको आकर्षणमा अझै सकारात्मक प्रभाव पर्न नसकेको उनको भनाइ छ । बागमती गाउँपालिका-५ इकुडोलस्थित शारदा शिक्षा सदन माझखण्डमा कार्यरत नर्स यशोदा कुशवाह, महेन्द्र भृकुटी माध्यमिक विद्यालयका सजना महर्जन, ललितपुरको नखिपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यालय नर्स मनकामना खरेल लगायतले विद्यालयमा विद्यार्थीको अनुकूल हुने गरी ‘सेक्सन’ छुट्याउन, पर्याप्त खेल मैदानको व्यवस्थाका साथै विद्यार्थीको सङ्ख्याअनुसार नर्सको व्यवस्था नहुँदा समस्या रहेको बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले निर्णय गर्ने ठाउँमा विषयविज्ञ र सम्बन्धित क्षेत्रको ज्ञान भएको व्यक्ति नहुँदा समस्या भइरहेको बताए । उनले विद्यालय नर्सको सेवा सुविधाका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ‘बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रममा यस वर्ष ५४ करोड रुपैयाँ खर्च गर्ने भनेको छ । १३ जिल्लाका ८४८ वटा विद्यालयमा कार्यक्रम लागू भएको छ,’ डा गेलालले भने, ‘विद्यालय नर्सका कारण धेरैको ज्यान बचेको छ, विद्यार्थीको अध्ययनमा सहज भएको छ, तर उहाँहरू आफैँ समस्यामा रहेको सुन्यौँ । अब कार्यविधि र निर्देशिकामा भएका कमजोरीलाई सुधार गर्दै नर्सका समस्या समाधान गर्न ध्यान दिन लाग्नुपर्छ ।’ जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत दीपा पाण्डेले ललितपुरका ५४ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको र हाल ४५ जना नर्स कार्यरत रहेको जानकारी गराए । महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले बालबालिकाको स्वास्थ्यका लागि विद्यालय नर्सले गरेको काम अत्यन्तै सकारात्मक रहेको बताए । महाकाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भरतबहादुर खड्काले विद्यालय नर्सको कार्यविधिमा रहेका समस्या समाधान गर्दै विद्यालय नर्सले अरु स्थायी र अस्थायी कर्मचारी सरह सेवा पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले विद्यालय नर्सका समस्या समाधान गर्न विद्यालय व्यवस्था समिति, प्रधानाध्यापक र विद्यालय प्रशासनसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा २० वटा विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम प्रभावकारी भएका निष्कर्षसहित आव २०८१/८२ मा प्रदेशका ८४८ वटा सामुदायिक विद्यालयमा कार्यक्रम विस्तार गरिएको जनाइएको छ ।