बाल अस्पताल निर्माणका लागि रिलायबल नेपाल लाइफको ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबुलोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमै आधुनिक बहुविशेषज्ञ (मल्टी–स्पेसियालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ । अस्पतालले बाल हृदयरोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ । रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

छोरीको अंगदानले बच्यो बाबुको ज्यान, किस्टमा सफल कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल भएपछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अस्पतालले यो सफल शल्यक्रियालाई आधुनिक चिकित्सा विज्ञानसँगै परिवारको निस्वार्थ प्रेम, त्याग र समर्पणको अनुपम उदाहरणका रूपमा चित्रण गरेको छ । यस सफलतासँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । अत्याधुनिक प्रविधियुक्त पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको समर्पित टोली तथा बहुविशेषज्ञीय उपचार पद्धतिका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको अस्पतालको भनाइ छ । अस्पताल व्यवस्थापनले यस सफल प्रत्यारोपणमा संलग्न सम्पूर्ण प्रत्यारोपण विशेषज्ञ, बेहोस पार्ने चिकित्सकको टोली, नर्सिङ टोली, सघन उपचार कक्ष, प्रयोगशाला, रक्त बैंक तथा अन्य सबै स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, आफ्नो जीवनको अमूल्य अंश दान गरेर बाबुलाई नयाँ जीवन दिने छोरीको साहस, प्रेम र मानवताप्रतिको समर्पण सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको अस्पतालले उल्लेख गरेको छ । किस्ट शिक्षण अस्पतालले भविष्यमा पनि अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ तथा विश्वस्तरीय उपचार सेवामार्फत नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्दै स्वास्थ्य सेवामा उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

रक्त परीक्षण सेवाका लागि रेडक्रसलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन वटा जैविक सूक्ष्मदर्शी (बायोलोजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकका अनुसार उक्त उपकरणले नेपाल रेडक्रस सोसाइटीको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने अभियानलाई सहयोग पुग्नेछ । माइक्रोस्कोपको प्रयोगबाट रगतमा रहेका राता रक्तकण, सेता रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यता पहिचान गर्न सहज हुने जनाइएको छ । यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत सङ्कलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन पनि उपकरणले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवा सुदृढ गर्न तथा सार्वजनिक स्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।