सरकारले बीमितलाई ठग्यो
काठमाडौं । झापाको काँकडभिट्टाकी सविना नेपालका लागि गर्भावस्थाको यात्रा सहज बनाइदिएको थियो स्वास्थ्य बीमाले । उनी विगत सात महिनादेखि बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा नियमित गर्भ परीक्षण गराइरहेकी थिइन् । बारम्बार अस्पताल धाउनुपर्ने गर्भावस्थामा स्वास्थ्य बीमाले उपचार खर्च घटाइदिएको मात्र होइन, गुणस्तरीय सेवा लिन सकिने भरोसा पनि दिएको थियो । त्यसैले पनि उनले सरकारी अस्पतालभन्दा निजी अस्पताल रोजिन् । नियमित जाँच, औषधि र परीक्षण सबै बीमा मार्फत सहज भइरहेको थियो । तर, गर्भावस्थाको बीचमै उनलाई थाइराइड र सुगरको समस्या देखियो । त्यसपछि चिकित्सकले अझ नजिकबाट निगरानी गर्न थाले । पटक–पटक अस्पताल बोलाउने, थप परीक्षण गर्ने र नियमित फलोअप गर्नुपर्ने अवस्था आयो । यही समयमा सरकारले स्वास्थ्य बीमा गरेका बिरामीलाई निजी अस्पतालमा आकस्मिक बाहेक अन्य सेवा नदिने निर्णय ग¥यो । त्यो निर्णयसँगै सविनाको उपचार यात्रा अचानक अनिश्चित बनेको छ । अहिलेसम्म बीमाको साहरामा उपचार गरिरहेकी उनी अब खर्चको भारी कसरी थेग्ने भन्ने चिन्तामा छिन् । ‘बीमाबाट सेवा लिँदा धेरै राहत थियो, पैसा पनि धेरै लाग्दैनथ्यो,’ सविना भन्छिन्, ‘अब सेवा नै बन्द भएपछि सबै खर्च आफैंले तिर्नुपर्छ । गर्भवती अवस्थामा यति ठूलो रकम कहाँबाट ल्याउने ? सरकारले सेवा दिने नाममा हामी जस्ता बिरामीमाथि अन्याय ग¥यो ।’ गर्भावस्था जस्तो संवेदनशील समयमा आएको यो निर्णयले सविनाजस्तै हजारौं बीमित महिलालाई अन्योल र आर्थिक दबाबमा धकेलेको छ । सविना जस्तै दैनिक यो अस्पतालमा उपचारका लागि आउने दुई हजार पाँच सय बिरामीलाई अहिले यस्तै पीर परेको छ । अस्पतालका अनुसार यो अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध भएका २५ सय बिरामी दैनिक उपचारका लागि आउने गर्छन् । पूर्वका कन्काई, ओमसाई लगायतका अन्य अस्पतालमा पनि स्वास्थ्य बीमा सेवा पाइने भए पनि धेरै भीड बी एण्ड सी अस्पतालमा हुन्छ । सरकारले गरेको यो निर्णयले बीमाबाट उपचारको राहत पाइरहेका गरिब नागरिकको स्वास्थ्यमा असर पर्ने अस्पतालका पदाधिकारी बताउँछन् । अस्पतालका अनुसार बी एण्ड सीले करिब ४५ करोड रुपैयाँ स्वास्थ्य बीमाबाट पाउन बाँकी रहेको छ । झापाको बाहुनडाँगीका घनश्याम घिमिरेले ६ महिनाअघि मात्रै ठूलो आशाका साथ स्वास्थ्य बीमा गरेका थिए । चार सदस्यीय परिवारका लागि उनले ३ हजार ५ सय रुपैयाँ तिरे । उमेर ढल्कँदै जाँदा कहिले आफू, कहिले श्रीमती बिरामी भइरहने भएकाले अस्पताल धाउन सजिलो होस् भन्ने सोचेर उनले बीमामा आबद्ध हुने निर्णय गरेका थिए । तर, अहिले निजी अस्पतालमा आकस्मिक बाहेक अन्य सेवा नपाइने सरकारी निर्णयले उनी निराश बनेका छन् । ‘बुढेसकाल लाग्यो, कहिले श्रीमती त कहिले म नै बिरामी भइरहन्छौं,’ घिमिरेले भने, ‘अस्पताल धाउन सजिलो होला भनेर बीमा गरियो। अब सामान्य जाँचका लागि पनि निजी अस्पतालमा सेवा नपाइने भयो भने त बीमा गरेर के फाइदा ?’ उनका अनुसार सरकारी अस्पतालमा बीमा भए पनि बिरामीले अपेक्षा अनुसार सेवा पाउन मुस्किल छ । लामो लाइन, सीमित सेवा र उपचार प्रक्रियाको झन्झटले वृद्धवृद्धालाई अझ बढी सास्ती हुने उनी बताउँछन् । ‘बीमाले हामीजस्ता वृद्ध र गरिबलाई राहत दिन्छ भन्ने सुनेका थियौं,’ उनी भन्छन्,‘ तर, अहिलेको निर्णय सुन्दा त पैसा खेर फालेजस्तो महसुस भइरहेको छ ।’ स्वास्थ्य बीमा बोर्डले आर्थिक संकटले धान्न सकिने अवस्था नआएपछि निजी स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य बीमा सेवा खुम्च्याउनु परेको बताएको छ । बोर्डको जेठ ११ गते बसेको बैठकले बोर्डको बढ्दो वित्तिय संकटलाई मध्यनजर गर्दै बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बोर्डले यही जेठ २६ गतेदेखि सेवा कटौती गर्ने भनेको छ । यो निर्णयले बीमा कार्यक्रमको ओपीडी भार कम गर्ने अपेक्षा बोर्डका पदाधिकारीलाई छ । अहिले बीमाको ५५ प्रतिशत भन्दा बढी भार ओपीडीको भएकाले निजी अस्पतालमा दिइएको ओपीडी भार कटाउँदा खर्च कम आउने विश्वास बोर्डलाई छ । राज्यले ठग्यो अछामका अमर साउँद तीन वर्षदेखि काठमाडौको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा श्रमतीको उपचार गराउँदै आएका छन् । श्रमतीको मृगौलामा खराबी आएपछि उनी उपचारका लागि काठमाडौ आएका हुन् । सुरुमा शिक्षण अस्पताल महराजगञ्जमा उपचार गराउँदै आएका उनी शिक्षण अस्पतालमा बीमा सेवा बन्द हुँदा केएमसी अस्पताल गएका थिए । अब केएमसी अस्पतालमै पनि बीमा सेवा कटौती हुने खबरले दुःखी भएका छन् । साउँद राज्यले सेवाका नाममा आफूहरू जस्ता विरामीलाई ठगेको बताउँछन् । ‘म बीमित सदस्य हुँ, मैले वर्सेनि बीमा नवीकरण गर्दै पुरै पैसा तिरिरहेको छु । तर, बीमाबाट सेवा लिँदा मैले पाउने सेवा कटौती हुनु भनेको राज्यले ममाथि गरेको ठगी हो,’ उनी भन्छन्, ‘कहिले अस्पतालको सास्ती कहिले बोर्डको सस्ती खेपिरहनुपर्छ । अस्पतालमा चिकित्सक कर्मचारीले गर्ने व्यवहार, औषधि नपाउँदाको समस्या थियो नै अब सरकारले निजी अस्पतालबाट पाउने सुविधा खुम्च्याइदिँदा समस्या भयो ।’ साउँद जस्तै धेरै बीमितकर्ताहरू स्वाथ्य बीमा बोर्डले गरेको निर्णयले आफूमाथि राज्यले ठगी गरेको दाबी गर्छन् । उनीहरू गरिब नागरिकले ऋण निकालेर वर्सेनि नवीकरण गर्दै आएको बताउँदै सरकारी अस्पतालले मात्र राम्रो सेवा दिन नसक्ने बताउँछन् । कुनै पनि बीमित अहिलेको स्वास्थ्य बीमा कार्यक्रमले दिने सेवाबाट खुसी छैनन् । छलफल नै नगरी निर्णय स्वास्थ्य बीमा बोर्डले १६ गतेदेखि कटौती गरेको ओपीडी सेवाबारे निजीअस्पतालका पदाधिकारीसँग कुनै छलफल गरेको छैन । आफूहरूलाई कुनै जानकारी नै नदिई गरेको यो निर्णयमा निजी अस्पताल सञ्चालकहरूले आपत्ति जनाएका छन् । निजी मेडिकल तथा डेण्टल कलेजहरूको संस्था ‘एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’का अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की राज्यले एकलौटी रुपमा निर्णय गरेको भन्दै यो निर्णयमा आपत्ति जनाँछन् । ‘हामीले यत्रो वर्ष निष्ठाले सेवा गर्यौं, बीमाको लागि भनेर कति संरचनाहरू बनायौं, त्यसको बाबजुत राज्यले एकपटक पनि यो विषयमा हामीसँग सल्लाह गर्न चाहेन, यो निकै दुःखद हो ।’ बीमाको पुर्नसंरचना हुन जरुरी रहेको र राज्यलाई पनि भार परेको विषयमा आफूहरू पनि जानकार रहेको भन्दै कार्कीले निजी संस्थासँग सल्लाह र छलफलै नगरी गरिएको निर्णयले दुःखी बनाएको बताए । ‘हामीसँग सम्बाद गरेको भए ओपीडी सेवा बन्द नगरेर हामी अर्को विकल्पको बाटो पनि दिन सक्थ्यौं,’ कार्की भन्छन्, ‘समस्याको समाधान जहिले पनि छलफलबाटै हुन्छ, हामी पनि नागरिकलाई सेवा दिन त्यत्तिकै आतुर छौं, त्यसमाथि अझ हामी मेडिकल कलेज सञ्चालक हौं, अरुले भने जस्तो चोर फटाह होइनौं ।’ उनले सामान्य पान पसल बन्द गर्न पनि सूचना हाल्नुपर्ने अवस्थामा यत्रो नागरिकलाई सेवा दिइरहेको बीमा कार्यक्रम बन्द हुँदा समेत आफूहरूलाई जानकारी नगराइनु गलत रहेको बताए । दुई हजारको रोजगारी गुम्ने डर स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई दिएको स्वास्थ्य बीमा कार्यक्रमको सेवा खुम्च्याएपछि करिब दुई हजार बढी युवाहरूको रोजगारी गुम्ने अवस्था आएको छ । बीमा कार्यक्रम सुरु भएपछि रोजगारी पाएका युवाहरूले बेरोजगार बन्नुपर्ने अवस्था आएको अस्पताल सञ्चालकहरूको भनाइ छ । बिराटनगरको विराट मेडिकल कलेजमा मात्र १ सय १० जनाको रोजगारी गुम्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य बीमा बोर्डको निर्णयले अस्पतालले दिइरहेका १ सय १० जना युवाको रोजगारी गुम्ने अवस्था आएको बताए । उनी भन्छन्, ‘एकातिर युवाहरू बेरोजगार भए भन्छौं, खाडीमा पसे भन्छौं, अर्कोतिर नेपालमै काम पाइरहेका युवाहरूले पाइरहेका कामलाई छलफलै नगरी यसरी हटाइदिन्छौं ।’ ‘चार–पाँच जना भए राख्न सकिन्थ्यो, तर यहाँ एउटै अस्पतालमा सय भन्दा बढी व्यक्ति काममा हुनुहुन्छ, बीमा नभएपछि हामी राख्न सक्दैनौं,’ कार्कीले भने । आकस्मिक सेवामा बिरामीलाई उपचार दिए पनि वार्डमा भर्ना गर्न नसकिने कार्कीको भनाइ छ । उनले आफ्नो दक्ष जनशक्तिलाई बदाइ गरिसकेपछि बीमालाई व्यवस्थापन गर्ने व्यक्ति नहुँदा सेवा दिन समस्या हुने उनी बताउँछन् । ४७ निजी अस्पताल स्वास्थ्य बीमा सेवा कार्यक्रम हाल देशभरका ५ सय २ अस्पतालमा सञ्चालित छ । जसमा ४ सय १७ वटा प्रथम सेवा बिन्दुका रुपमा सेवा दिने स्वास्थ्य संस्था छन् भने ८५ वटा प्रेषण केन्द्र रहेका छन् । बोर्डका अनुसार १७ मेडिकल कलेज लगायत ४७ वटा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कार्यक्रम सञ्चालनमा छन् । सरकारले अब ४७ वटा निजी अस्पतालले दिइरहेको स्वास्थ्य सेवा कार्यक्रमलाई खुम्च्याएको हो । सरकारको यो निर्णयबाट असन्तुष्ट निजी अस्पताल सञ्चालकहरू नेपाली नागरिकको लागि २०÷३० अर्ब रुपैयाँ खर्च गर्नु धेरै ठूलो कुरा नरहेको बताउँदै राज्यले यो कार्यक्रमलाई कहिल्यै पनि व्यवस्थित् गर्न नचाहेको आरोप लगाउँछन् । २०७२ सालमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरेको यो कार्यक्रममा सुरुवातिमा राज्यले ७ अर्बको बजेट छुट्याउँदै आएको थियो । हाल बढाएर बजेट बढाएर १० अर्ब मात्र बनाएको छ । १० अर्ब बक्यौता बाँकी सिनामंगलमा रहेको केएमसी अस्पतालले स्वास्थ्य बीमा वापतको ३२ करोड रुपैयाँ पाउन बाँकी रहेको छ । अस्पतालका सुचना अधिकारी नारायण दाहलले ३२ करोड रुपैयाँ पाउन बाँकी रहेको बताए । उनका अनुसार केएमसीमा दैनिक डेढ सय जना बिरामी स्वास्थ्य बीमा सेवा अन्तर्गत सेवाका लागि पुग्ने गर्छन् । सरकारले गरेको यो निर्णयले विपन्न नागरिकलाई ठूलो मार परेको दाहल बताउँछन् । विराटनगरमा रहेको विराट मेडिकल कलेजले स्वास्थ्य बीमा सेवा कार्यक्रम अन्तर्गतको ६५ करोड रुपैयाँ पाउन बाँकी छ । जहाँ दैनिक उपचारका लागि आउने दुई हजार पाँच सय बिरामी मध्ये करिब पाँच सय बढी बिरामी स्वास्थ्य बीमा सेवाबाट उपचारका लागि आउने गर्छन् । यस्तै, झापाको बी एण्ड सी अस्पतालले ४५ करोड रुपैयाँ पाउन बाँकी रहेको छ । यो अस्पतालमा दिनहुँ २५ सय बिरामी स्वास्थ्य सेवा कार्यक्रमका लागि मात्र पुग्ने गर्छन् । निजी अस्पतालमा मात्रै हजारौं बिरामी उपचारका लागि पुग्ने गर्छन् । सरकारले गरेको निर्णयले यस्ता नागरिक उपचारबाट बञ्चित हुने भएका छन् । कार्की अनुसार निजी ४७ स्वास्थ्य संस्थाले करिब १० अर्ब रुपैयाँ स्वास्थ्य बीमा बोर्डबाट पाउन बाँकि रहेको बताएको छ । सरकारको अपरिपक्व निर्णय बोर्डले गरेको निर्णयलाई सरोकारवालाहरूले अपरिपक्व र हतारमा गरिएको कदमका रूपमा टिप्पणी गरेका छन् । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक गुणराज लोहनीले सरकारले बढ्दो वित्तीय संकट देखाउँदै रोजेको उपाय उपयुक्त नभएको बताएका छन् । ‘सरकारलाई वित्तीय संकट परेको छ, तर संकट कम गर्ने नाममा अपनाइएको यो विकल्प सही होइन,’ उनले भने । उनले सरकारले हाल लिएको निर्णयलाई आत्तिएको अवस्थाबाट गरिएको निर्णयका रूपमा विश्लेषण गरेका छन् । पूर्व महानिर्देशक लोहनीले बीमा कार्यक्रम नै स्थगित गर्नेगरी चालिएको यो कदम ‘संविधान विरोधी’ भएको टिप्पणी गरेका छन् । निजी स्वास्थ्य संस्थाहरूमा मेडिकल इथिक्सविपरीतका गतिविधि हुने गरेको चर्चा बेलाबेलामा हुँदै आएको छ । बिरामी र अस्पताल दुवैले स्वास्थ्य बीमा सेवाको अत्यधिक प्रयोग तथा दुरुपयोग गरेको गुनासो पनि विभिन्न माध्यमबाट उठ्दै आएको छ । तर, अस्पतालहरूमा वास्तवमै यस्तो दुरुपयोग भएको भए त्यसको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा सरकारले उल्टो बाटो रोजेको लोहनीले बताएका छन् । लोहनीका अनुसार सरकारले गरिब विपन्न वर्गका लागि स्वास्थ्य बीमाअन्र्तगत दिइने थप एक लाख रुपैयाँको सुविधाले ठूलो वित्तीय भार परेको छ । यो सुविधाले ती वर्गको कुनै आर्थिक सुनिश्चितासमेत नभएको उनले तर्क गरे । उनले सरकारलाई स्वास्थ्य बीमाबाट वार्षिक वित्तीय भार बढ्दै गएकाले अब वार्षिक लिइने प्रिमियम रिभाइज हुनुपर्ने आवश्यकता औंल्याएका छन् । ‘विशेषगरी गरिब र विपन्नका लागि दिइने थप एक लाखको सुविधाको कुनै आर्थिक सुनिश्चितता छैन र यसको वित्तीय भार भयंकर धेरै । स्वास्थ्य बिमाको प्रिमियम रिभाइज गर्नुपर्ने आवश्यकता छ, उनले भने, ‘विगत १० वर्षको अध्ययनले प्रति परिवार खर्च साढे ८ हजार रुपैयाँ देखाएको छ ।, तर ३५ सय प्रिमियम लिएर साढे ८ हजार खर्च गर्नु सरकारको गम्भीर त्रुटी हो ।’ केसीले आगामी बजेटमा सरकारले स्वास्थ्य बीमालाई भारतको मोडलअनुसार लैजान खोजिएको अड्कल गरेका छन् । यदि सरकारले स्वास्थ्य बीमालाई यो मोडलअनुसार लगेको खण्डमा ‘युनिभर्सल हेल्थ कभरेज’ को सिद्धान्तलाई न्याय गर्न नसक्ने उल्लेख गरे । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष प्रा. डाक्टर फत्त बहादुर केसीका अनुसार सरकारले चालेको यो कदम नीतिगत रुपमा गलत छ । उनले बीमितलाई पहिल्यै पोलिसी बेचिसकेपछि अहिले आएर बीमा सेवा दिन्न भन्नु अन्याय भएको बताए । ‘पोलिसी बेसिसकेपछि बीचमा आएर सेवा दिन्नँ भन्न पाइँदैन, बीमितले जुनसुकै हालतमा सेवा पाउनुपर्छ,’ उनले भने । केसीका अनुसार अचानक ‘आकस्मिक बाहेकको सेवा पाउँदैन’ भनेर बन्द गर्दा बीमित मर्कामा पर्नेछन् । सरकारलाई आर्थिक भार प¥यो भन्दैमा यस्तो निर्णय गर्नु बीमाको सिद्धान्त विपरित रहेको उनले औंल्याएका छन् । नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सकारको दायित्व भएकोले यो विषयमा जिम्वेवार हुनुपर्ने केसीको भनाइ छ । प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेलले यसरी सूचना नै निकालेर बीमा सेवा बन्द गर्नुभन्दा सरकारले कसरी हुन्छ चलाउनुपर्ने तर्क राखेका छन् । उनले बन्द नै गर्नुभन्दा सरकारले अरु नै विकल्पहरु सोच्न सक्ने बताएका छन् । ‘बन्द गर्नु उपयुक्त होइन, अरु विभिन्न विकल्प सोच्न सकिन्छ,’ उनले भने । स्वास्थ्य बीमा सरकारको दायित्व भएकाले कुनै पनि परिस्थितिमा त्यसबाट पछि हट्न नमिल्ने पौडेलको भनाइ छ । समस्याको दीर्घकालीन समाधानका लागि नयाँ मोडेल अपनाउँदै जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्नेमा उनको जोड छ । बीमितहरूले के-के पाउँछन् सुविधा ? स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य रहेको परिवारको लागि प्रतिपरिवार वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । पाँच जनासम्मको परिवारको लागि वार्षिक ३५ सय रुपैयाँ प्रिमियम तिरेर यो सेवा लिन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य थप २० हजार रुपैयाँका दरले वार्षिक २ लाख रुपैयाँसम्म उपचार पाउने व्यवस्था छ । क्यान्सर, मुटु रोग, मृर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलेस एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइसकेपछि बीमितले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्ने व्यवस्था ऐनले नै गरेको छ । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, वार्षिक रुपमा बोर्डले तोकेभन्दा बढी मूल्यका चस्मा, श्रवण यन्त्र, सेतो छडी र वैशाखी, पोलिएको, गम्भीर अपाङ्गगताको लागि गरिने उपचार, प्लास्टिक तथा कस्मेटिक सर्जरी, दाँत उखेल्ने, दाँत वा गिँजाबाट पिप निकाल्ने र दाँत सम्बन्धी घाउचोट को प्राथमिक व्यवस्थापन बाहेकको दन्त उपचार सेवा पाउने छैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन । बीमितले प्रथम सेवा बिन्दुबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ । प्रथम बिन्दु सेवाबाट बीमितले आवश्यक सेवा प्राप्त गर्न नसकेमा प्रथम विबन्दु सेवाले गरेको स्वास्थ्य सेवा प्रदायकबाट सेवा लिनुपर्ने व्यवस्था छ । आकस्मिक अवस्थामा भने जुनसुकै सेवा प्रदायकबाट बीमा सेवा लिन सकिने ऐनमा व्यवस्था गरिएको छ ।
केएमसी अस्पतालद्वारा छालारोग तथा सौन्दर्यसम्बन्धी सेवा विस्तार
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले छाला, कपाल र नङसँग सम्बन्धित रोगहरूको निदान तथा सौन्दर्य अभिवृद्धिका लागि अत्याधुनिक चिकित्सा सेवा विस्तार गरेको छ । काठमाडौंको सिनामंगलस्थित अस्पतालले ‘डर्माटोलोजी’ र ‘प्लास्टिक सर्जरी’ विधाअन्तर्गतका जटिल समस्याहरूको वैज्ञानिक र सुरक्षित उपचार पद्धति सञ्चालनमा ल्याएको हो । पछिल्लो समय अस्पतालमा छालासम्बन्धी उपचारका लागि आउने सेवाग्राहीको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । अस्पतालले सामान्य एलर्जीदेखि छालाको क्यान्सर, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर र दुबीजस्ता समस्याहरूको प्रभावकारी उपचार गर्दै आएको छ । आधुनिक ’डर्माटोलोजी’ सेवालाई केवल रोगको उपचारमा मात्र सीमित नराखी सौन्दर्य प्रसाधन (एस्थेटिक) का रूपमा समेत विकास गरिएको अस्पतालले जनाएको छ । उपचार प्रक्रियालाई गुणस्तरीय बनाउन अस्पतालले विशेषज्ञ चिकित्सकहरूसहित करोडौँ मूल्यका अत्याधुनिक लेजर उपकरणहरू प्रयोगमा ल्याएको छ । यस प्रविधिमार्फत अनुहारको छाया–पोतो, चाउरीपना तथा ट्याटु हटाउने सेवा उपलब्ध छ । छालारोग विशेषज्ञ डा. गरिमा रेग्मीकाअनुसार अहिले केएमसीमा दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेका छन् । उपचारका लागि आउनेहरूमा महिलाका साथै पुरुषहरूको संख्या पनि बढ्दो क्रममा रहेको डा. रेग्मीले जानकारी दिइन् । अस्पतालले अनावश्यक स्थानमा पलाएका रौँ हटाउने र कपाल झर्ने समस्याको वैज्ञानिक उपचार गरिरहेको छ । साथै, निकट भविष्यमै सहुलियतपूर्ण दरमा अत्याधुनिक उपकरणका माध्यमबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा शुरु गर्ने तयारी अस्पतालले गरेको पनि उनले बताइन् । केएमसीमा प्लास्टिक सर्जरी सेवासमेत उपलब्ध रहेकाले दुर्घटनाबाट क्षतिग्रस्त अंग, क्यान्सरको उपचारपछि काटिएका भाग वा जन्मजात समस्या भएका अंगहरूको पुनर्निर्माण गरिँदै आएको छ । यसका साथै, नाक, ओठ वा स्तनको बनावट परिवर्तन गर्न चाहनेहरूका लागि चिकित्सकीय मापदण्डअनुसार ‘कस्मेटिक सर्जरी’ सेवा उपलब्ध गराइएको छ । सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध भएपछि सेवाग्राहीलाई थप सहज भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित यस अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई प्रविधिमैत्री र विशिष्टीकृत बनाउँदै लगेको छ । छाला र अंगहरूको प्राकृतिक सन्तुलन कायम गरी बिरामीको आत्मविश्वास बढाउन अस्पतालले दक्ष जनशक्ति र आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेको छ ।
नयाँ औषधि उद्योग बनाउन देउराली जनताले लियो ५.२९ अर्ब ऋण, ९ महिनामा डेढ अर्ब आम्दानी
काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले चितवनको मङ्गलपुरमा नयाँ औषधि उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले करिब ५ अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक उत्पादन केन्द्र निर्माण गर्न लागेको हो । कम्पनीका अनुसार परियोजना ७०:३० को ऋण-इक्विटी संरचनामा अघि बढाइनेछ । यसअन्तर्गत ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी लगानी रहनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब २९ करोड ३० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । यसमध्ये ३ अर्ब ४५ करोड रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । बैंकहरूको कन्सोर्टियममार्फत ऋण व्यवस्थापन सम्पन्न भएको र संस्थापकहरूले आवश्यक इक्विटी चरणबद्ध रूपमा लगानी गर्ने छन् । कम्पनीले परियोजना निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीको हालको कुल स्थिर सम्पत्ति आधार करिब २ अर्ब २३ करोड रुपैयाँ रहेको छ, जसको तुलनामा नयाँ परियोजना निकै ठूलो मानिएको छ । सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि उद्योगको अग्रणी कम्पनीमध्ये एक हो । कम्पनीले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी, हेपाटोलोजी, छाला रोगलगायत विभिन्न क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष औषधिहरू उत्पादन गर्दै आएको छ । हाल कम्पनीका २८० भन्दा बढी प्रकारका औषधि बजारमा उपलब्ध छन् । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीमा ७१ प्रतिशत सेयर कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर परिवारका सदस्य तथा अन्य लगानीकर्ताको नाममा रहेको छ । ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणसहित कम्पनी स्थापना गरिएको हो । नेपाललाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कम्पनीले गुणस्तरीय औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् १९९१ मा ज्वरो घटाउने औषधि, एन्टिबायोटिक्स र भिटामिन उत्पादनबाट यात्रा सुरु गरेको थियो । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मका औषधिहरू उत्पादन गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १ अर्ब ४५ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १६.१६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकमार्फत आफ्नो व्यापार विस्तार गरिरहेको छ । देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेलका अनुसार नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् । ‘हाम्रो उद्देश्य उत्पादन वृद्धिमात्र होइन, त्योभन्दा धेरै जनशक्तिलाई रोजगारी दिने हो । तर यसका लागि लगानी गर्न, काम गर्न पाइने वातावरण राज्यले सिर्जना गरिदिनुपर्यो,’ उनले भने । देउराली जनता फर्मास्यूटिकल्ससँग विज्ञहरूसहित कामदारको राम्रो समूह भएकाले पनि आफूलाई अर्को कदम सुरु गर्न सहज भएको उनले बताए । नयाँ परियोजनाले भ्याक्सिन लगायत औषधी उत्पादन गर्नेछ । उनी भन्छन्, ‘विकसित विज्ञानलाई अझ परिष्कृत गर्न, गुणस्तरीय सेवा विस्तार गर्न र आगामी दिनमा अझ प्रभावकारी नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादनहरूमार्फत व्यवसायिक सेवाको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने यो नयाँ कदम हुनेछ ।’