धनुषामा एक अस्पतालसहित ४ वटा औषधि पसललाई कारबाही
जनकपुरधाम । सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल बजरङ्ग चौक, राघव सजिर्कल पसल माछा बजार र कम्युनिटी सभिर्स अस्पताल वीरेन्द्र बजारलाई सिल गरिएको हो । कार्यालयले निजी अस्पतालसहित कूल दुई दर्जन औषधि पसलको अनुगमन गरेको थियो । जसमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नरहेको तथा आफूखुसी औषधि बिक्रीवितरण गरेको पाइएपछि पहिलोपटकलाई चेतावनी दिइएको प्रमुख साहले बताए । रासस
१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण शुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए । नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन् । सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीले बताए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए । यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रिया सहितको आँखा उपचार सेवा सुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारीले बताए । ‘सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ,’ नगर प्रमुख अधिकारीले भने । मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहले बताए । पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए । रासस
अनुहारले दिन्छ कलेजो बिग्रिएको चेतावनी, यी संकेत देखिए सतर्क हुनुहोस्
काठमाडौं । कलेजो हाम्रो शरीरको मुख्य अंग हो । जसले रगत शुद्धीकरण गर्ने र खानालाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ । तर कलेजोमा समस्या हुँदा वा यसले राम्रोसँग काम नगर्दा हाम्रो शरीरले अनुहारमार्फत चेतावनीको संकेत दिने गर्छ । अनुहारमा परिवर्तन आउँदा हामीले समयमै ख्याल गर्यौं भने कलेजो जोगाउन सक्छौं । आउनूहोस आज कलेजो खराब हुँदा अनुहारमा कस्ता संकेतहरू आउँछन्, तिनको बारेमा संक्षिप्त रूपमा बुझौं । आँखा र छाला पहेँलो हुनु आँखा र छाला पहेँलो हुनु कलेजो बिग्रिएको सबैभन्दा मुख्य संकेत हो । जब कलेजोले रगतबाट बिलिरुबिन (पहेँलो पदार्थ) हटाउन सक्दैन तब आँखाको सेतो भाग र अनुहारको छाला पहेँलो हुन्छ । .यसलाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ । अनुहार असामान्य तरिकाले सुन्निने यदि बिहान उठेपछि अनुहार विशेष गरी आँखा मुनिको भाग धेरै सुन्निएको देखिन्छ भने यो कलेजोको कार्यक्षमतामा कमी आएको संकेत हुन सक्छ । कलेजोमा समस्या हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ जसले गर्दा सुन्निने गर्छ । अनुहारमा कालो दाग कलेजो बिग्रिएपछि शरीरमा हार्मोनल सन्तुलन बिग्रन्छ । यसका कारण अनुहारमा अचानक खैरो वा कालो दाग देखिन थाल्छल । यसलाई प्रायः छालाको समस्या भनेर गलत बुझिन्छ । तर यो आन्तरिक कलेजो क्षतिको संकेत हुन सक्छ । माकुराको जालोको नसा यदि तपाईंले आफ्नो अनुहारमा माकुराको जालोजस्तै देखिने मसिना र राता नसाहरू देख्नुभयो भने सावधान रहनुहोस् । किनभने यो गम्भीर कलेजो रोगको संकेत हो । जब कलेजोले राम्रोसँग काम गर्न सक्दैन तब बढेको हर्मोनले रक्तनलीहरूलाई फैलाउँछ । यसले छालाको सतह नजिकै माकुरा जस्तो ढाँचा सिर्जना गर्छ । यी साना रक्तनलीहरू कलेजोको क्षतिको संकेत हुन सक्छन्, विशेष गरी सिरोसिसको ।